ताजा समाचार

झोक्किदैं देउवाले भने, ‘काठमाडौंलाई महानगर भन्न पनि लाज लाग्यो, १५ दिनमा खाल्डा देखिनुभएन्’

काठमाडौं, १ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको अवस्था महानगर भन्न पनि लाज लाग्ने अवस्था रहेका बताएका छन् । उनले आवश्यक परे थप बजेट दिन सरकार तयार रहेको भन्दै सडकका खाल्डाहरु तत्काल पुर्न निर्देशन दिए । आइतबार सडक, खानेपानी, विद्युत, सडक विस्तार आयोजनालगायत सरोकारवाला मन्त्री, मुख्यसचिव, सचिव र विभागीय प्रमुखलाई बोलाएर सडकका खाल्डा तत्काल पुर्न र ढल फुट्ने समस्या समाधान गर्न निर्देशन दिएका हुन् ।

शुक्रबार अपरान्ह राजधानीको नेपालटारमा ३ कक्षामा अध्ययनरत विनिता फुयालको ढलले बगाएर निधन भएको र सामखुशीमा स्कुले बालिका सत्या सापकोटाको ढलले बगाएर उद्दार गरिएको घटनाप्रति ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री देउवाले यस्ता समस्या नदोहोरिने गरी समाधान गर्न निर्देशन दिएका हुन् ।

‘सरकार भनेको जनताका लागि बनेको हो । जनताको समस्यालाई हामीले कुनै पनि हालतमा समाधान गर्नुपर्छ’ देउवाले भने, ‘काठमाडौंमा सडक हो कि पोखरी हो चिन्न नसक्ने भएका छन् । स्कुले विद्यार्थीहरु हिँड्दा हिँड्दै ढलमा पसेका छन् । खाल्डा खुल्डीले महानगर भन्न पनि लाज लाग्ने अवस्था छ । तपाईहरु के गरिरहनु भएको छ ? काठमाडौं उपत्यकाका खाल्डाहरु तत्काल पुर्नेहोस्, त्यसको लागि थप बजेट चाहिए म उपलव्ध गराउँछु ।’

प्रधानमन्त्रीले सरोकारवाला निकायका प्रमुखहरुलाई तत्काल फिल्डमा खटिएर समस्या समाधान गर्न समेत निर्देशन दिएको उनको निजी सचिवालयले जनाएको छ । ‘तपाईहरुले आजै फिल्डमा गएर निर्देशन दिनुस्, बढीमा १५ दिनभित्र काठमाडौंका खाल्डाहरु पुर्नहोस्, फुटेका ढलहरु बनाउनुहोस् । ढलेका विजुलीको पोल गाड्नुहोस्’ प्रधानमन्त्रीले भने, ‘मैले अबको १५ दिनभित्र काठमाडौंमा खाल्डा खुल्डी देख्न नपरोस् । मलाई रिपोर्ट गर्नुहोस् ।’

प्रधानमन्त्री देउवाले काठमाडौं उपत्यकाका नेपाल टेलिकम, विद्युत प्राधिकरण र सडक विभागले समन्वय गरेर काम गर्न पनि निर्देशन दिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org