ताजा समाचार

चीन-भारत तनाव बढ्दो, दुवै देश आ-आफ्नै सैन्य शक्तिलाई सीमा क्षेत्रमा तैनाथ गराउँदै


काठमाडौं, ५ साउन । चीन र भारतबीच कूटनीतिक सम्बन्ध चिसिएको छ भने सैन्य तनाव झन् बढेको छ । विवादित भूमि दोकलामबाट सैनिक तुरुन्त पछि हटाउन भारतलाई चेतावनी दिइरहेको चीनले आफ्नो सैन्य शक्ति सीमाक्षेत्रतर्फ अघि बढाएको समाचार एजेन्सीले जनाएका छन् ।

चिनियाँ सेनाको एउटा ठूलो समूह दशौँ हजार टन हतियारसहित तिब्बततर्फ अघि बढेको चिनियाँ जनसेनाको मुखपत्र पिएलएले जनाएको छ । एक साताअघि मात्र जनसेनाको एउटा समूहले तिब्बती क्षेत्रमा वर्षको सबैभन्दा ठूलो सैन्य अभ्यास गरेको थियो जसको भिडियो चिनियाँ टेलिभिजनबाट प्रसारण गरिएको थियो । चीनले हतियार ओसारेको र युद्ध अभ्यास गरेको क्षेत्र दोकलामबाट नजिकै रहेको हङकङस्थित साउद चाइना मर्निङ पोस्टले जनाएको छ ।

पछिल्ला दिनमा चीनबाट प्रकाशित हुने विभिन्न सञ्चारमाध्यमहरूले भारतलाई निरन्तर चेतावनी दिँदै आएका छन् । चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्स र सिन्हृवाले पनि भारतीय सेना विवादित भूमिबाट नफर्किएमा भारतले अप्रिय परिणामको सामना गर्नुपर्ने चेतावनी दिँदै आएका छन् । चीन र भारतका सेना सीमावर्ती क्षेत्र दोकलाममा आमनेसामने भइरहेका वेला जनसेनाको अभ्यासलाई अर्थपूर्ण रूपमा लिइएको छ । चीनको पछिल्लो कदमले भारत थप सतर्क र चनाखो बनेको छ ।

यसैबीच, भारतीय सेनाले पनि सीमा क्षेत्रमा टेन्ट टाँगेर २४ सै घन्टा निगरानी बढाएको छ । चिनियाँ सेनाले सीमामा गतिविधि नरोकेसम्म भारतीय सेना पछाडि नहट्ने अधिकारीहरूले बताएका छन् ।

१० हजार फिटको उचाइमा सिक्किमको सीमामा परिचालन गरिएका सेनालाई नियमित रूपमा खाद्यान्न र बन्दोबस्तीका सामग्री पठाइएको भारतीय अधिकारीहरूले बताएका छन् । बन्दोबस्तीका सामग्रीसहित सेना परिचालनले नयाँदिल्ली बेइजिङसँग नझुक्ने संकेत गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org