ताजा समाचार

भारतीय प्रहरी हिरासतमा एक नेपालीको ज्यान गएपछि नेपाली कामदार आन्दोलित

काठमाडौं, ९ साउन । प्रहरी हिरासतमा रहेका नेपाली युवाको मृत्यु भएको घटनापछि भारतको हिमान्चल प्रदेशमा नेपालीहरु आन्दोलित बनेका छन् । हिरासतमा मृत्यु भएको घटनाको छानविन गर्न माग गर्दै हिमान्चल प्रदेशस्थिति सिमलामा नेपालीहरु आन्दोलनमा उत्रेका हुन् । हिमान्चल प्रदेशमा रहेका १ लाख ८४ हजार कामदारमध्ये १७.५ प्रतिशत नेपाली रहेका छन् । स्याउ उत्पादकहरुले यतिबेला फसल भित्र्याउने तयारी गरिरहेको बेला नेपालीहरुले आन्दोलनमा उत्रेका हुन् ।

एक बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा सुरज नाम गरेका २९ वर्षीय नेपालीलाई गत साता पक्राउ गरेर हिरासतमा राखिएको थियो । उनको गत बुधबार मृत्यु भएको छ । घटनामा मुख्य अभियुक्त राजेन्द्रसँगको झगडाका क्रममा उनको मृत्यु भएको दावी प्रहरीको छ भने नेपालीहरुले चरम यातनाले मृत्यु भएको आशंका गरेका छन् । शनिबारदेखि केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) ले यो मुद्दा हेर्न थालेको छ ।

अखिल भारतीय एकता मञ्चले निष्पक्ष अनुसन्धानको माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएको छ । ‘नेपालीहरुलाई यति खराब व्यवहार गरिनु दुःखद कुरा हो । हामी यहाँ आफ्नो जीविकोपार्जनका लागि आएका हौं । सुरजको गल्ती के थियो र उसलाई कसले मार्‍यो, सरकारले स्पष्ट बताउनुपर्छ,’ समाजका अध्यक्ष शुभ रामले भने । ‘मैले कलिलो उमेरकी सुरजकी बिधवालाई भेटेँ, उनको गल्ती के थियो ? सरकारले उनलाई क्षतिपूर्ति दिनुपर्छ र उनको जिविकाको प्रवन्ध गर्नुपर्छ,’ नेपाली एकता मञ्चका प्रमुख जोखा रामले भने ।

सरकारले यस घटनालाई निष्पक्ष छानविन नगर बगैंचामा काम गरिहेका सबै नेपालीहरुलाई आफ्नो काम रोक्न आह्वान गर्ने नेपाली नेताहरुले चेतावनी दिएका छन् । स्याउ खेतीका लागि प्रसिद्ध सिमलास्थित कोटखाईका कृषकहरु नेपालीहरुको सम्भावित आन्दोलनले त्रशित बनेका छन् । ‘कोटखाईमा बिहीबार प्रहरी चौकीमा आगजनी हुँदा आन्दोलनको अग्रपंतिमा नेपालीहरु थिए । उनीहरु साँच्चै धेरै आक्रोशित छन्,’ एक स्थानीय माली रोहित चौहानले हिन्दुस्तान टाइम्सलाई भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org