ताजा समाचार

ठग म्यानपावर र दलाललाई कारवाही गर्न प्रहरीको स्पेशल फोर्स बनाउने गृहमन्त्री शर्माको घोषणा

काठमाडौं, १२ साउन । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले युवा–युवतीहरुको समस्या समाधान गर्न प्रहरीको स्पेशल फोर्स बनाएर परिचालन गर्ने घोषणा गरेका छन् । मन्त्री शर्माले बैदेशिक रोजगारीमा जाने सिलसिलामा ठगिएका र दुःख पाएका युवा–युवतीहरुको समस्या समाधान गर्न प्रहरीको स्पेशल फोर्स बनाएर परिचालन गर्ने घोषणा गरेका हुन् ।

बिहीबार संसदको अन्तर्राष्ट्रिय सम्वन्ध तथा श्रम समितिको बैठकमा बोल्दै मन्त्री शर्माले ठगिएका हजारौं उजुरी प्रहरी समक्ष आउने गरेको र ठगिएकाहरुको पैसा फिर्ता नहुँदा धेरै घरबारविहीन भएकाले समस्या समाधान गर्न प्रहरीको छुट्टै ब्युरो गठन गरेर परिचालन गर्नेगरी गृह मन्त्रालयले तयारी गरिरहेको बताए ।

‘उक्त ब्युरोलाई वैदेशीक रोजगारीको सिलसिलामा दुःख पाएकाहरुको समस्या समाधान गर्ने जिम्मा दिईने छ’ मन्त्रि शर्माले भने, ‘धेरै नेपाली कामदार भएका देशहरुमा प्रहरीको अफिसर पठाएर समस्या समाधान गर्नेबारे पनि तयारी गरिरहेका छौं ।’ वैदेशीक रोजगारको समस्या समाधान गर्न सरोकारवाला मन्त्रालय, विभाग र मेनपावर कम्पनीहरुकोबिचमा समन्वयको अभाव भएको उल्लेख गर्दै उनले भने, ‘अवैध रुपमा विदेशीनेहरुलाई रोकथाम गर्नका लागी अध्यागमनको क्षमता अभिवृद्धि गर्नेतिर पनि गृह मन्त्रालयले तयारी गरिरहेको छ ।’

वैदेशिक रोजगारीमा जान लागेकाहरुलाई सरकारले तालिम र प्रशिक्षण दिन नसकेको उल्लेख गर्दै उनले भने, ‘अहिले श्रमिकहरु दलालको फन्दामा पर्ने गरेका छन्, मेनपावरले पनि दलालमार्फत आएका मान्छेहरुलाई विदेश पठाउने हुनाले दलालबाटै उनिहरु ठगिन्छन् ।’ ‘फ्रि–भिसाको प्रावधानलाई समेत हामिले नियमन गर्न सकेनौं’ मन्त्री शर्माले भने ‘दलालहरुले त्यहि फ्रि भिसा बेचिराखेका छन्, बाहिर १० हजार बुझाएको रसिद दिएर भित्र एक लाख रुपैयाँ असुलिरहेका छन् ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org