ताजा समाचार

कतार संकटले नेपाली कामदारको डिमान्ड घट्यो, दुवै पक्ष नेपाली कामदारसँग समर्थन माग्दै

काठमाडौं, १५ साउन । चार खाडी मुलुकले दुई महिनायता कतारमाथि गरेको चर्को नाकाबन्दीको प्रत्यक्ष असर नेपाली कामदारमा पनि देखिन थालेको छ । कतारका केही कम्पनीले नेपालीलगायत विदेशी कामदारको ‘डिमान्ड’ गर्न छाडेको खबर आजको अन्नपूर्ण पोस्टमा छ । केहीले पहिले स्वीकृत भइसकेको कामदार लिन बन्द गरेका छन् ।

नेपालीको समस्याबारे दोहास्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई लिखित रूपमा जानकारी गराएको छ । ‘केही कतारी कम्पनीले विदेशी कामदारको डिमान्ड नगरेको सत्य हो । केही कम्पनीले नेपालबाट कामदार लिने प्रक्रिया रद्द गरेका छन्’ कतारस्थित नेपाली राजदूत रमेश कोइरालाले भने । तर, कति कतारी कम्पनीले नेपालबाट डिमान्ड लिन छाडे भन्ने तथ्यांक दूतावास र म्यानपावर एजेन्सीसँग छैन ।

राजदूत कोइरालाले कतारमा हाल कार्यरत नेपालीको रोजगारीमा असर नपरेको बताए । ‘कोही पनि नेपालीले कतारमा जागिर गुमाएका घटना हालसम्म दूतावासको जानकारीमा आएको छैन । उनीहरूको जागिर संकटमा परेको सुनिएको छैन’, उनले भने ।

श्रम स्वीकृति लिनेको संख्या घट्यो
वैदेशिक रोजगार विभागका अनुसार असारमा कतार जान स्वीकृत लिने नेपालीको संख्या पहिलेको तुलनामा घटेको छ ।मासिक औसत ९ हजार नेपालीले कतार जान स्वीकृति लिने गरेकोमा असारमा ५५ सयले स्वीकृति लिएको विभागका प्रवक्ता मोहन अधिकारीले बताए ।

नेपालसँग समर्थन माग्दै दुवै पक्ष
कतारलाई नाकाबन्दी गर्ने मुलुक र कतार दुवैले नेपालसँग आफ्नो पक्षमा उभिदिन आग्रह गरेका थिए । काठमाडौँस्थित कतारी राजदूत अहमद जसिम मोहम्मद अली अल हमरले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग भेटी कतारमा रहेका नेपालीको रोजगारीमा समस्या नआउने बताएका थिए ।

उनले कतारमाथिको नाकाबन्दीविरुद्ध बोलिदिन नेपाललाई घुमाउरो ढंगले आग्रह गरेका थिए । त्यसको एक सातापछि इजिप्ट, संयुक्त अरब इमिरेट्स र साउदी अरेबियाका राजदूतले परराष्ट्रमन्त्री महरा र गृहमन्त्रीसँग भेटी कतारमाथि नाकाबन्दी लगाउनुपरेको कारणबारे अवगत गराएका थिए । उनीहरूले घुमाउरो रूपमा नाकाबन्दीको समर्थन गरिदिन आग्रह गरेका थिए । परराष्ट्रमन्त्री महराले नेपाल यस खालका क्षेत्रीय संकट शान्तिपूर्ण वार्ताबाट हुनुपर्ने जवाफ दिएका थिए । बरु मन्त्री महराले कतार संकटको समाधानका लागि नेपालले मध्यस्थता गर्न सक्ने राजदूतसमक्ष बताएका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org