ताजा समाचार

भुटानी शरणार्थी हत्याका आरोपी १६ वर्षपछि पक्राउ, १२ वर्ष विदेशमा बसेका थिए

झापा, १७ साउन । झापामा एक भुटानी शरणर्थीको हत्या आरोपी १६ वर्षपछि पक्राउ परेका छन् । खुदुनाबारीमा रहेको शिविरका सन्तबहादुर अधिकारीको हत्यामा संलग्न साबिक खुदुनाबारी–७ का भुपेन्द्र भनिने भीमबहादुर भट्टराई १६ वर्षपछि पक्राउ परेका हुन् । खुदुनाबारीस्थित शरणार्थी शिविरको सेक्टर ए टुको हट नम्बर ३१ मा बस्दै आएका अधिकारीको हत्या गरेर फरार भएका थिए । भट्टराईलाई इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरेको हो ।

भट्टराईमाथि सामान्य विवादमा २०५८ साल चैत २६ गते खुकुरी प्रहार गरी अधिकारीको हत्या गरेको आरोप छ । इलाका प्रहरी प्रमुख डिएसपी केशवकुमार थेवेका अनुसार घटना भएको समयमा मादक पदार्थ सेवन गरेका भट्टराईले शिविरको चौकीदार गरिबसेका अधिकारीलाई राति टर्च लाइट माग्दा नदिएपछि विवाद भएको थियो । त्यसपछि विवाद बढ्दै जाँदा भट्टराईले नजिकैको सुखानी खोलामा लगेर अधिकारीको हत्या गरेको अनुसन्धानमा खुल्न आएको प्रहरीको भनाइ छ ।

भट्टराईलाई पुरानो हुलियाको आधारमा साउन ४ गते बिर्तामोडको मुक्तिचौकबाट पक्राउ गरिएको हो । अधिकारीको निर्ममतापूर्वक हत्या गरी सोही राति भट्टराई काठमाडौं गएको उनले प्रहरीलाई बयान दिएका छन् । त्यसपछि वैदेशिक रोजगारीका सिलसिलामा १२ वर्षजति मलेसिया, कम्बोडिया र भियतनाममा बसेका थिए । करिब २ वर्षअघि नेपाल आएर बिहेसमेत गरेका भट्टराईलाई पहिले ५ र अहिले १० दिन म्याद थपी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org