ताजा समाचार

बाबुरामलाई भेटेपछि प्रचण्डले भने, ‘अब हामी छिटै नयाँ छलफल सुरु गर्नेछौं’

भक्तपुर, २४ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईका बीच वर्तमान राजनीतिक परिवेशबारे आज गम्भीर छलफल भएको छ। दुई नेताबीच भएको भेटमा नयाँ शक्ति र माओवादी केन्द्रको सम्बन्धबारे पनि छलफल भएको बताइएको छ।

मध्यपुरथिमि, गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा गत शुक्रबार प्रोष्टेट ग्ल्यान्ड मूत्रथैलीको शल्यक्रिया गरी उपचारार्थ भर्ना भएका डा. भट्टराईको स्वास्थ्य अवस्था बुझ्न आज अपराह्न अस्पताल पुगेका नेता प्रचण्डले भने, ‘डा. भट्टराईसँगको भेटमा गम्भीर छलफल भएको छ, अब छिट्टै एउटा नयाँ छलफलको प्रक्रिया प्रारम्भ हुन्छ भन्ने मलाई विश्वास छ।’

पूर्वप्रधानमन्त्री दाहालले पूर्वप्रधानमन्त्री डा. भट्टराईको उपचारमा संलग्न चिकित्सकसँग स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए। शल्यक्रियामा संलग्न प्रा. डा. राकेश बर्मासँग करिब १५ मिनेट जानकारी लिएपछि दुवै नेताबीच मात्रै करिब आधा घण्टा छुट्टै छलफल भएको थियो।

करिब एक वर्षदेखि नियमित रुपमा डा. भट्टराईको मूत्रथैलीको परीक्षण आफूले गरिरहेको बताउँदै प्रा.डा. बर्माले हाल पिसाबमा बढी खराबी आएका कारण शल्यक्रिया गरिएको बताए। डा. भट्टराईको स्वास्थ्य अवस्थाबारे जानकारी लिन सोमबार राति सभामुख ओनसरी घर्ती पनि पुगेकी थिइन्। अस्पतालका निर्देशक श्रीभक्त कासिछ्वाले डा. भट्टराईको उपचार बुधबारसम्म चल्ने र अपराह्न २ बजे घर फिर्ता पठाइने जानकारी दिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org