ताजा समाचार

केपी ओलीले ३ सय भन्दा बढीलाई एमालेमा प्रवेश गराउँदै भने, ‘माओवादी सकियो, अब केन्द्रमात्रै बाँकी छ’

काठमाडौं, २६ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी पार्टीमा अब केन्द्रमात्रै बाँकी रहेको बताएका छन् । माओवादी पार्टी अब केही पनि बाँकी नरहेको भन्दै अध्यक्ष ओलीले अब केन्द्रमात्रै बाँकी रहेको बताएका हुन् ।

‘अब माओवादीमा जे छ, केन्द्रमात्रै छ, अरु केही पनि बाँकी छैन, माओवादी केन्द्र !’ विहीबार धुम्बाराहीस्थित एमाले मुख्यालयमा माओवादीका ३ सय भन्दा बढी कार्यकर्ताहरुलाई एमालेमा प्रवेश गराउँदै ओलीले भने, ‘तपाईहरुले अलिकति हल्लाइदिनुभयो, अब एकपल्ट हल्लाइदिने हो भने माओवादी सकिन्छ ।’ रुखमा पात अडिनका लागि जीवन आवश्यक पर्ने भन्दै ओलीले माओवादीभित्र जीवन नरहेकाले अब पातहरु झर्दै जाने बताए । माओवादी पार्टीमा २०५५ सालदेखि एउटै नेताको जमिन्दारी चलेको ओलीले बताए ।

माओवादी छाडेर एमालेमा आएका सिराहातिरका केही माओवादी कार्यकर्तालाई ओलीले भने, ‘त्यहाँ आजीवन एउटै नेता हुन्छन्, पीए पनि आफ्नैलाई बनाउँछन्, उम्मेदवार पनि आफ्नैलाई बनाउँछन्, तपाईहरु अहिलेसम्म कसरी बस्नुभयो होला ? एमालेमा त यस्तो जमिन्दारी चल्दैन ।’ एमाले मुख्यालयमा आयोजित कार्यक्रममा सिरहाका माओवादी कार्यकर्ता गणेश अधिकारी र वैद्य समूहका केही कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराइएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org