ताजा समाचार

५० भन्दा बढी पुल उच्च जोखिममा, राष्ट्रिय राजमार्गका पुलको आयू सकिँदै

काठमाडौं, ३० काठमाडौं । नियमित मर्मत नहुँदा जोखिममा रहेका रणनीतिक महत्वका ५० भन्दा बढी पुल बाढी तथा डुबानका कारण झनै जोखिममा परेका छन् । महेन्द्र राजमार्गको पलथैलाबाट ढल्केवरसम्मका सबै पुल जोखिममा छन् । यीबाहेक देशभरका राष्ट्रिय राजमार्गका पुल उच्च जोखिममा रहेको खबर अन्नपूर्णपोस्ट दैनिकमा छ ।

सडक विभागअन्तर्गतको पुल महाशाखा प्रमुख अर्जुनजंग थापाका अनुसार पूर्वको रातु खोलाको पुल र इटहरीको लबी खोलाको पुल भाँचिएर यातायात अवरुद्ध भएको छ । नुवाकोट बट्टारको पुल, बुटवल नारायणगढको नारायणी पुल, बुटवलको तिनाउँ खोलाको पुल उच्च जोखिममा छन् । यातायात नै अवरुद्ध भएकादेखि बाढीपहिरोले थप जोखिममा पारेकासहित यस्ता पुललाई प्रतिस्थापन गरी नयाँ नै बनाउनुपर्ने थापाले जानकारी दिए ।

महाशाखाका अनुसार अहिलेसम्म नयाँ बनाउनुपर्ने गरी जोखिममा परेका पुलमा बुटवल-नारायगढको नारायणी पुल, बुटवलको तिनाउँ पुल, हेटौंडा-नारायगढ सडकको लोथर पुल, पूर्वमा रातु खोला पुल छन् । पुल भाँचिएका र तत्काल विकल्प खोज्नुपर्ने यस्ता पुलका कारण यातायात अवरुद्ध छन् ।

रातु खोलाभन्दा चार किमि पश्चिममा पर्ने जंघा खोलाको पुलमा पनि बाढीले ल्याएको रूख तथा अन्य अवरोध देखापरेको छ । पथलैयाबाट १४ किमिको धन्सार खोला पुलमा अवरोध आएको छ । पथलैयाबाट पाँच किमिको दूरीमा रहेको दुधौरा खोलामा पनि अवरोध छ ।

विभागका अनुसार झापाको कन्काई पुल, हेटौंडाको राप्ती खोला पुलमा समस्या देखिँदा राजमार्ग अवरुद्ध छ । दाउन्नेबाट बुटवल खण्डको ४४ किमिमा कल्भर्ट बाढीले थुनिएको छ ।

दाङको तुल्सीपुरबाट लहमीतर्फको बाटोमा पनि कल्भर्टमा क्षति पुगेको छ । पूर्व-पश्चिम राजमार्गको अगैया खोला पुल पनि अवरुद्ध छ । यही सडक ढाबर खोलाले क्षति पुगेको छ । रौतहटमा पनि एक कल्भर्ट बाढीले बगाएको छ । मोरङमा सडक अवरुद्ध छ । महोत्तरीको गौर जाने बाटोमा पानीको निकास दिन स्थानीयले सडक नै काटेका कारण पनि यातायात अवरुद्ध छ ।

महेन्द्र राजमार्गमा मात्र ३४ वटा पुल नयाँ बनाउन विश्व बैंकमार्फत आवश्यक रकमको जोहो गर्न लागिएको छ । उक्त सडकमा १५ अर्ब खर्च गरेर भएका पुल विस्थापन गरी नयाँ बनाउनुपर्ने भएको छ । सडकको चौडाइ नौ मिटर रहेको तर पुल भने जम्मा पाँच मिटरको मात्र भएको, जोखिममा परेका र यसअघि विस्थापन गर्ने भनेर तयारी भएका पुल नयाँ बनाउनुपर्नेछन् ।

६ सय पुल जोखिममा
सरकारले निर्माण गरेका २२ सय पुलमध्ये ६ सयवटा पुल जोखिममा परेका छन् । हालसम्म निर्माण भएका पुलको सरदर आयु ५० वर्ष भएको र देशभर ६ सयभन्दा बढी पुल ४० वर्ष पुगिसकेकाले जोखिममा रहेको सडक विभागको मर्मत महाशाखा प्रमुख सरोज प्रधानले बताए । जोखिम बढ्दै गएका यस्ता पुल पूर्व-पश्चिम राजमार्ग, अरनिको, सिद्धार्थसहित देशभरका सडकमा छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org