ताजा समाचार

श्रीकृष्ण जन्माष्टमी पर्व मनाईंदै, कृष्ण मन्दिर दशनार्थीको घुइँचो

काठमाडौं, ३० साउन । भाद्र कृष्ण अष्टमीका दिनमा हरेक वर्ष मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । आजको दिन पाटनको मंगलबजारमा रहेको प्रसिद्ध श्रीकृष्ण मन्दिर, काठमाडौंको पूर्वी भेगस्थित गोठाटारमा रहेको नवतनधाम, उत्तरी भेग बूढानीलकण्ठस्थित श्रीकृष्ण भावनामृत सङ्घको मन्दिरमा र देशभरका अन्य कृष्ण मन्दिरमा भव्य रुपमा पूजा, आराधना एवम् रथयात्रा र शोभायात्रा गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिन्छ ।

आजको दिनमा विशेषगरी महिलाहरु व्रत बसी राति १२ बजे श्रीकृष्ण जन्मिएको सम्झनामा पूजा लगाउने र रातभर जाग्राम बसेर श्रीकृष्णको भक्ति सङ्गीत गाउने गर्दछन् । यसो गरेमा श्रीकृष्ण प्रशन्न भई मनोवाञ्छित फल प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो । दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान विष्णुको आठौँ अवतारका रुपमा श्रीकृष्णको जन्म भएको शास्त्रमा वर्णन गरिएको छ ।

कंशको अत्याचारबाट मानव जातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको आठौँ गर्भबाट भगवान् विष्णुको आठौँ अवतारका रुपमा आजको दिन श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ । कंशले जेलनेलसहित बन्दी बनाएको अवस्थामा देवकीबाट श्रीकृष्णको जन्म भएको थियो । चारैतिर सेनाको कडा सुरक्षा हुँदा पनि भगवान् विष्णुको मोहित पार्ने शक्तिका कारण श्रीकृष्ण जन्मिएका बेलामा सबै सैनिक गहिरो निद्रामा परेका थिए । त्यसैबेला आकाशवाणीमार्फत वासुदेवलाई ‘नवजात शिशु कृष्णलाई वृन्दावनस्थित मित्र नन्दका घरमा पुर्‍याऊँ’ भन्ने आकाशवाणी भएको थियो । यही मोहित पार्ने शक्ति भएका कारण आजको रात्रिलाई मोहरात्रि पनि भनिन्छ ।

वासुदेव नन्दको घरमा गई कृष्णलाई त्यहीँ छोडी त्यही दिन नन्द पत्नी यशोदाको गर्भबाट जन्मिएकी बालिकालाई लिएर आएपछि मात्र सैनिक ब्युँझिएको प्रसङ्ग महाभारत ग्रन्थमा उल्लेख गरिएको छ । कौरव र पाण्डवका बिचमा कुरुक्षेत्रमा भएको धर्मयुद्धमा सत्यको पक्षमा रहेका पाँच पाण्डव मध्येका अर्जुनको सारथीका रुपमा श्रीकृष्णले युद्धको शिक्षा दिएका थिए ।

युद्धका क्रममा श्रीकृष्णले अर्जुनलाई प्रेरणा दिँदै सत्यको पक्षमा हौसला प्रदान गरेका थिए । यही युद्धका क्रममा श्रीकृष्णले अर्जुनलाई दिएको उपदेश नै ‘श्रीमद्भगवत् गीता’ हो । यसैकारण श्रीमद्भगवत् गीतालाई हिन्दूको पवित्र ग्रन्थ मानिन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org