ताजा समाचार

धुर्मुसद्वारा रामनगरको मुसहर बस्तीका बाढीपीडितलाई राहत वितरण

बर्दिवास, ३० साउन । हास्यकलाकार धुर्मुस (सीताराम कट्टेल) ले महोत्तरी जिल्लाको भंगाहा–४ रामनगरका ३५ परिवार बाढीपिडितलाई राहत वितरण गरेका छन् । आइतबार साँझ काठमाडौँबाट बर्दिवास आइगेका धुर्मुसले आइतबार राति भंगाहा–४ रामनगरको मुसहर बस्तीका बाढीपीडित ३५ परिवारलाई राहत प्रदान गरेका हुन् ।

पराले झुप्रामा बसोबास गर्दै आएका सो बस्तीका ३५ परिवारले शनिबार बिहान बाढीले घर डुबान गरेपछि भोकभोकै बस्दै आएको बेला पाइएको राहतले बाँच्ने आशा पलाएको बताएका छन् । चिउरा, मुरी (भुजा) बिस्कुट, चाउचाउ लगायतका तयारी खानेकुरा र एक÷एकवटा टर्चलाइट धुर्मुसले ३५ परिवार बाढीपीडितलाई दिएको सो बस्तीका जुगल सादा मुसहरले बताए ।

धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्षसमेत रहेका हास्यकलाकार धुर्मुसले आपत् परेका बेला तत्काल मलहम लगाउन आफू केही खाद्यवस्तु र टर्चलाइट लिएर बाढीपीडित भेट्न आएको बताए ।

राहत वितरणसँगै जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका स्वास्थ्य निरीक्षक सन्तोषकुमार ठाकुरले बाढीपीडित परिवारका सबैको स्वास्थ्य जाँच गरी औषधि वितरण गरेका थिए । गत शनिबार सो बस्तीमा पसेको रातु र बडहरि नदीको बाढीले मुसहर बस्ती डुबाएसँगै चारवटा घर लडाएको थियो । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org