ताजा समाचार

पाँच वर्षपछि चिनियाँ उच्चअधिकारी नेपालमा, उपप्रधानमन्त्री पाकिस्तानबाट सिधै काठमाडौं ओर्लिए

काठमाडौं, ३० साउन । चिनियाँ उपप्रधानमन्त्री वाङ याङ नेपालको चारदिवसीय औपचारिक भ्रमणमा काठमाडौं आईपुगेका छन् । सोमबार अपराह्न विशेष विमानबाट पाकिस्तानबाट सिधै राजधानी काठमाडौं आइपुगेका हुन् । चीन र भारतबीच दोक्लाममा बढ्दो सीमा विवादका बीच चिनियाँ उपप्रधानमन्त्री वाङ बेइजिङबाट पाकिस्तान हुँदै काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा ओर्लिएका हुन् । वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्रनारायण देवले स्वागत गरे ।

चिनियाँ विशिष्ट पाहुनालाई चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, नेपालका लागि चिनियाँ राजदूत यु होङ तथा परराष्ट्र मन्त्रालयका उच्चपदस्थ अधिकृत र चिनियाँ दूतावासका कर्मचारीले स्वागत गरेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको पूर्वसन्ध्यामा चिनियाँ उपप्रधानमन्त्रीको नेपाल भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

चिनियाँ उपप्रधानमन्त्री याङले आज आराम गर्ने र भोलि (मंगलबार) देखि राजनीतिक भेटघाट थाल्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा भन्दा पहिले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्ने कार्यक्रम छ ।

विहान ११ बजेदेखि १२ः३० सम्म उपप्रधानमन्त्री विजय कुमार गच्छदारसंग होटल सोल्टीमै भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसैगरी १२ः३० देखी १ बजेसम्म उपप्रधानमन्त्री वाङ तथा उपप्रधानमन्त्री कृष्णबहादुर महराको उपस्थितिमा नेपाल र चीनबीच एक सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको छ ।

त्यस्तै दिउँसो ३ बजेदेखी ४ः४० बजेसम्म पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीसंग भेट्ने छन् । उनले दुवै नेतालाई ४०–४० मिनेट समय दिनेछन् ।

मंगलबारको समय तालिका सकिएपछि उनले बुधबार बिहान ९ः३० बजेदेखि साढे १० बजेसम्म स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलसंगै कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन् ।

साथै ११ः३० बजेदेखि १२ः३० बजेसम्म उपप्रधानमन्त्री वाङ र नेपालका उद्योग–व्यवसायीबीच १ घण्टा छलफल हुनेछ । दिउँसो ३ बजेदेखि ४ः४५ बजेसम्म प्रधानमन्त्री देउवा र वाङबीच ४५ मिनेट प्रधानमन्त्री निवास वालुवाटारमा भेटवार्ता हुने कार्यक्रम तय भएको छ ।

त्यसैगरी ४ बजेदेखि ४ः४५ बजेसम्म राष्ट्रपति विद्यादेखी भण्डारीसंग ४५ मिनेट शीतलनिवासमा भेटवार्ता हुनेछ । बिहिबार बिहान ८ बजे चिनियाँ विशेष विमानबाट उपप्रधानमन्त्री वाङ स्वदेश फिर्ता हुने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org