ताजा समाचार

तराईको डुबान भारतीय तटबन्धकै कारणलेः कहिल्यै पानी नपस्ने ठाउँमा समेत पस्यो

काठमाडौं, ५ भदौं । कोसीको पानी नेपाली भूभागमा छिरेका कारण सप्तरीको भारदहदेखि तिलाठीसम्मको करिब एक सय ६० वर्गकिलोमिटर क्षेत्र डुबानमा परेको तथ्य फेला परेको छ। यसबाट ६ सय परिवारको उठिबास भएको छ भने हजारौं बिघा जमिनमा लगाइएको धानबाली सखाप भएको खबर आजको अन्नपूर्णमा छ ।

भारतले बनाएको पश्चिमी तटबन्ध (भारदहदेखि तिलाठीसम्म) राखिएका ६ वटा जलद्वार (स्लुइस गेट) बाट कोसीको पानी नेपाली भूभागमा छिरेको हो। यी जलद्वारबाट केही वर्षअघिसम्म नेपाली भूभागको पानी कोसीमा गएर मिसिन्थ्यो। यी क्षेत्रमा पानी नपस्ने र डुबान नहुने भएकाले यिनलाई ‘सुरक्षित क्षेत्र’ का रूपमा ‘चर्चित’ रहेको रम्पुरा मल्हनियाँका वासिन्दा तथा अधिवक्ता देवनारायण यादवले बताए।

उनका अनुसार च्यानलाइज गरेपछि कोसीको पानीले भारदह, हनुमाननगर हुँदै इनरवा, को. बर्साइन, रम्पुरा मल्हानियाँ, कोइलाडी, सकरपुरा, तिलाठी, जोगनिया वडा नम्बर १ र २, लाई डुबानमा पारेको हो। कोसीको पानीले मात्र १० किलोमिटर चौडाइ र १६ किलोमिटर लम्बाइको नेपाली भूभाग डुबानमा परेको यादवले बताए।

नेपालमै उत्पत्ति भएको मौलीको पानीसमेत कोसीमा मिसिने गरेको थियो। तर, मौलीको पानीसमेत डुबानको कारक बन्यो। ‘सुरुदेखि नै कोसीका ५६ ढोकामध्ये पश्चिमतर्फ (नेपाली भूभाग आउने) का ढोका खोलिदियो, जसले गर्दा पानी यतै (नेपालतर्फ) आयो,’ उनले भने।

भारतले गत वर्ष ‘कोसी पश्चिमी तटबन्ध बाढी नियन्त्रण आयोजना’ कोसीको पानीलाई मध्यभागबाट बगाउने उद्देश्यले ब्यारेजदेखि तल तीन किलोमिटर ‘च्यानल’ खनेपछि कोसीको पानी मध्यतिर नगई पश्चिमी (नेपाली क्षेत्र) तर्फ सोहोरिएर नेपाली भूभाग डुबानमा परेको हो। ‘भारतले कोसीको मध्यभागमा च्यानल बनाएर बीचबीचै कोसीको पानी बगाउन खोज्यो,’ यादवले भने, ‘तर पानी मध्यतिर नगई नेपाली भूभाग भएको पश्चिमी तटबन्धमा हानियो, जसले गर्दा त्यो पानी हामीकहाँ छिर्‍यो।’

एकातिर कोसीको पानी पश्चिमी तटबन्ध हुँदै नेपाली भूभागतर्फ सोहोरिएर आयो भने अर्कोतर्फ रम्पुरा मल्हनियाँ, तिलाठीलगायत नेपाली भूभागको पानी कोसी नदीमा नगई उल्टै कोसीको पानी छिर्न पुगेकाले बढी डुबान भएको स्थानीयको भनाइ छ। केही वर्षअघिसम्म कोसीको नदी सतह (रिभर बेड) पश्चिमी तटबन्ध (नेपाली सुरक्षित भनिएको भूभाग) भन्दा तल रहेकाले नेपाली क्षेत्रको पानी कोसीमा मिसिने गर्थ्यो , यसबाट नेपाली भूभाग डुबानमा पर्न पाउँदैनथ्यो। ‘अहिले स्थिति ठीक उल्टो छ, यहाँको पानी कोसीमा जानुपर्नेमा उल्टै कोसीको पानी यता (नेपाली भूभाग) मा आइरहेछ’ हनुमाननगर कंकाल्नी नगरपालिका वडा नम्बर ११ का मोहन दासले भने, ‘पहिला खेतको उचाइ धेरै थियो र पानी जान्थ्यो।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org