ताजा समाचार

२४ दिने बेहोस बच्चाको समेत उपचार गर्न नसकेकी रुन्तीदेवीको विराटनगरका मेयरले उद्धार गरेपछि

मोरङ, ६ भदौं । बस्ने घर पनि बगाइहाल्यो । आम्दानीको स्रोत केही छैन । उपचार गरुँ सुको पैसा छैन । यस्तै पीडा र अभावमा बेहोस बच्चा बोकेर रोइरहेकी एक महिला विराटनगर महानगरपालिकाको वडा नम्बर १९ को खदरा टोलमा शनिबार भेटिनुभयो । महानगरका प्रमुख भीम पराजुलीले उहाँको सोधिखोजी गर्नुभयो । उहाँ बच्चाको उपचार तत्काल गर्ने व्यवस्था मिलाउनतिर लाग्नुभयो । महिलाको दयनीय अवस्था देखेर प्रमुख पराजुलीले आफैँ चढेको गाडीमा राखेर स्थानीय सुरक्षा अस्पतालमा उपचार गर्ने प्रबन्ध मिलाउनुभयो ।

स्थानीय रुन्तीदेवी ऋषिदेव आर्थिक अभावका कारण बच्चाको उपचार गर्न सकिरहनुभएको थिएन । बच्चा जन्मेको २४ दिनमात्र भएको थियो । सुत्केरी भएको महिना दिन पनि पूरा नपुग्दै बाढीको चपेटामा पर्नुभयो । आम्दानीको कुनै स्रोत नभएको र भएको एउटा घरसमेत बगाएपछि ऋषिदेव चिन्तामा हुनुहुन्थ्यो । उहाँका श्रीमान् रिक्साचालक हुनुहुन्छ । उहाँ पनि केही समयदेखि बिरामी हुनुहुन्छ ।

जब सुरक्षा अस्पतालमा बच्चाको उपचार हुन थाल्यो, ऋषिदेव हर्षित हुनुभयो । प्रमुख पराजुलीले बच्चाको पूर्णरुपमा उपचार गर्ने र बच्चाको आमालाई खानपिनका लागिसमेत व्यवस्था गरिदिनुभयो । बच्चाको स्वास्थ्यमा आएको सुधार देखेर ऋषिदेवले भन्नुभयो, ‘भगवानले मेरो बच्चा बचाउन प्रमुखसापलाई पठाउनुभएको रहेछ । मेरो भाग्य नै भन्नुपर्छ प्रमुखसापले मेरो बच्चा र मलाई बाँच्ने वातावरण बनाइदिनुभयो ।’

प्रमुख पराजुलीले बच्चालाई उपचारको व्यवस्था मात्र होइन पुनः आजसमेत बच्चाको स्वास्थ्यस्थिति बुझ्न सुरक्षा अस्पताल पुग्नुभयो । पराजुलीले बच्चा बचाउनका लागि गरेको प्रयासमा डा. रम्भा देवले अधिकतम प्रयास गर्नुभयो । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org