ताजा समाचार

सुस्ताबासीलाई आखिर किन आयो गण्डक नहर भत्काउनुपर्ने अवस्था ? भन्छन्, ‘सरकार नै भारतको गुलाम भएपछि कस्ले के गर्ने’

नवलपरासी, ११ भदौं । आफुहरुलाई साह्रै दुःख दिएको भन्दै सुस्ताबासीले गण्डक नहरको एक भाग भत्काई दिए । भारतले आफ्नो हितको लागि बनाएको गण्डक नहरले नेपाली भूभाग वर्षेनी डुबानमा पर्ने गरेको छ । आफ्नो देशको भूभाग डुनाव परिरहेको बेला समेत सरकारले कुनै पहल नगरेपछि स्थानीय आफैले जोखिम मोलेर नहरको एक भाग भत्काएका हुन् । आफूहरुको खेतीयोग्य जमिन कटान गरेको भन्दै नहरको एक भाग भत्काइदिएका हुन् ।

भारतीय गण्डक नहरदेखि उत्तरको वडा नम्बर १ र २ को भूभाग वर्षाले डुबाएको थियो। मानवीय क्षति नभए पनि करिव तीन सय विघा धानवाली पूर्ण नष्ट भएको भन्दै स्थानीयले नहर भत्काइदिएका हुन्। उनीहरुले बाढीको पानी निकास र रैपुराखोलाको व्यवस्थापन हुनुपर्ने माग गर्दै गण्डक नहर भत्काएका हुन्।

आफूहरुको मागलाई २०६० सालदेखि बेवास्ता गरिंदै आएकाले नहर भत्काउनुपर्ने बाध्यता भएको स्थानीय बाबुराम सुबेदीले जानकारी दिए । उनले भने, ‘हाम्रो सम्पूर्ण बाली नष्ट भयो, कसरी वर्ष कटाउने ? खानको लागि केही कुरा पनि नहुनुले पनि आफूहरुले यस्तो बाटो अपनाउनु परेको हो।’

बाढीपीडित उद्दार सेवा समितिका अध्यक्ष एकनारायण न्यौपानेले पनि आफूहरुले रहरले नहर बाध्यतामा नहर भत्काएको बताए। उनले भने, ‘बिगतका वर्षहरुमा पनि हाम्रा मागलाई बेवास्ता गरिएको र अहिले पनि खासै मागको सम्वोधन नभएका कारण नहर भत्काएका हौँ।’

आफ्ना मागहरु सम्वोधन नभएमा भत्काएको बाँधलाई पुर्न नदिने उनले बताए। उनीहरुले तत्काल नष्ट बालीको क्षतिपूर्ति पाउनुपर्ने, रैपुराखोला नहरको माथिबाट जाने र नहरको तलबाट जाने व्यवस्था गर्नुपर्ने, हरेक वर्ष रैपुराखोला सफा गर्नुपर्ने माग राखेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org