ताजा समाचार

गैँडाको केटो (बच्चा) सहित १० दिनमा ६ गैँडाको उद्धार

रत्ननगर (चितवन), ११ भदौं । बाढीले बगाएर जोखिममा परेको एउटा गैँडाको केटो (बच्चा) को पनि उद्धार गरिएको छ । भारतको वाल्मीकिनगर आसपास क्षेत्रबाट शनिबार साँझ उद्धार गरी ल्याइएको गैँडाको बच्चालाई भने राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा राखिएको छ।

तीन महिनाको भाले केटो (बच्चा) भएकाले जंगलमा छाड्दा जोखिममा पर्ने भन्दै संरक्षण गरेर राखिएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए। अलि ठूलो भएपछि मात्रै जंगलमा छाडिने जनाइएको छ। यसअघि जोखिममा परेर उद्धार गरिएको एउटा गैँडा रहेकाले उसैको साथीका रुपमा यसलाई पनि राखिएको निकुञ्जले जनाएको छ।

योसँगै भदौको १० दिनको अन्तरालमा चितवन निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिकसहितको टोलीले छ वटा गैँडालाई उद्धार गरिसकेको छ। जसमा पाँच गैँडालाई भने निकुञ्जमा छाडिसकिएको छ। निकुञ्जको टोलीले अझै भारतमा गैँडा रहेको आशंकामा खोजी जारी राखेको सूचना अधिकारी नुरेन्द्र अर्यालले बताए।

गैँडाको उद्धारका लागि चितवन निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्राविधिकसहित ५० जनाको टोली परिचालन भएका छन्। बाढीका कारण चितवन निकुञ्जका दुई गैँडा तथा चित्तल र रतुवा मृग छवटा गरी आठवटा जनावर मरेका छन्। बाढीले चितवन निकुञ्जमा वन्यजन्तुको वासस्थानमा भौतिक सम्पत्तिमात्रै रु दुई करोडभन्दा बढीको क्षति भएको निकुञ्ज विभागका महानिर्देशक मनबहादुर खड्काले बताए। रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org