ताजा समाचार

सर्वोच्चद्धारा सिलवालले दायर गरेको रिट खारेज, ६ महिनादेखिको आइजीपी नियुक्ति विवाद टुंगियो

काठमाडौं, २७ भदौ । सर्वोच्च अदालतले आइजीपी नियुक्तिमा आफूमाथि अन्याय भएको भन्दै डिआइजी नवराज सिलवालले दायर गरेको रिट निवेदन खारेज गरेको छ । प्रधान न्यायाधीश गोपाल प्रसाद पराजुलीको नेतृत्वको वृहत पूर्ण इजलासले सिलवालको रिट निवेदन खारेज गरेको हो ।

बरियतामा आफू एक नम्बरमा रहेको र कार्य सम्पादन मूल्यांकनमा पनि आफू नै अगाडि रहेको अवस्थामा प्रकाश अर्याललाई आइजीपी बनाइएको भन्दै सिलवाल अदालत गएका थिए । अदालतले अर्यालको कार्य सम्पादन मूल्यांकन अंक १५४ दशमलव ४ र सिलवालको १५२ दशमलव २ देखिएको भन्दै सिलवालको मागदावी पूरा नहुने ठहर गरेको हो ।

यो फैसलासँगै करीब ६ महिनादेखि आइजीपी नियुक्ति प्रकरणमा चलेको मुद्दा किनारा लागेको छ । सिलवालले कार्यसम्पादन र मूल्याङ्कनमा आफू पहिलो स्थानमा हुँदाहुँदै पहिला जयबहादुर चन्द र पछि प्रकाश अर्याललाई प्रहरी महानिरीक्षकमा बढुवा गरेर आफूमाथि अन्याय भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

प्रधानन्यायाधीश गोपाल पराजुली तथा न्यायाधीशहरू ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमानसिंह राउत र पुरुषोत्तम भण्डारीको बृहत् पूर्ण इजलासले कार्यसम्पादन मूल्याङ्कनमा प्रकाश अर्याल नै नवराज सिलवालभन्दा अघि देखिएको ठहर गरेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org