ताजा समाचार

जापानी अध्यागमनको नियन्त्रणमा रहेका कांग्रेस नेता प्रदीप पौडेल नेपाल फर्काइए

जापान, १ असोज । नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेल जापानी अध्यागमनको नियन्त्रणपछि नेपाल फिर्ता भएका छन् । पार्टीको भातृ संगठनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा भाग लिन कांग्रेस नेताहरु धनराज गुरुङ र प्रदीप पौडेललाई निम्त्याइएको थियो । शनिवार अपराह्न टोकियोस्थित नारिता बिमानस्थल आइपुगेका उनीहरुमध्ये गुरुङलाई प्रवेश अनुमति दिइए पनि पौडेललाई केही समय अध्यागमनले नियन्त्रणमा लिएर नेपाल फर्काएको छ । पौडेलसँगै स्वास्थ्यखबर पत्रिकाका प्रकाशक अनिल न्यौपानेलाई पनि अध्यागमनले नियन्त्रणमा लिएको थियो ।

केही घण्टा नियन्त्रणमा राखेर सोधपुछ गरेपछि उनीहरुलाई नेपाल फिर्ता पठाइएको छ । ‘हामीले अनेक कोसिस गर्दा पनि बाहिर ल्याउन सकिएन’ आयोजक नेपाली जनसम्र्पक समितिका प्रवक्ता सुरेश गिरीले भने, ‘उहाँहरुलाई फिर्ता पठाएको जानकारी इमिग्रेसनले दिएको छ, आजै राति नेपाल आइपुग्नुहुन्छ ।’

पौडेललाई रिहा गर्न टोक्योस्थित नेपाली राजदूतावास र नेपालबाट नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासमेतले फोन गरेर कोसिस गरे पनि सफल हुन सकेन । र, अन्ततः फिर्ता पठाइयो ।

धनराज गुरुङपछि इमिग्रेसन पुगेका उनीहरुले जापानबाट फर्किने कुरामा आश्वस्त पार्नेगरी जवाफ दिन नसकेपछि सबैभन्दा अन्तिममा इमिग्रेसन पुगेका पौडेल नियन्त्रयणमा परेको हुन् । प्रवक्ता गिरीले भने पौडेललाई स्पोन्सर गर्नेको फोन बेलामा नउठेको र र्फम भर्दा पेशा पत्रकार र राजनीतिज्ञ भनेर उल्लेख गरेको हुँदा अतिरिक्त निगरानीमा परेको दाबी गरे । गुरुङसँग रातो पासपोर्ट भएकाले बिना चेकजाँच सहजै आउन पाए पनि पौडेलसँग रातो पासपोर्ट नभएकाले समस्या आएको गिरीको भनाइ छ । जनसम्र्पक समितिले आइतबार साँझ पाँच बजे अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

जापान अध्यागमनले विभिन्न समयमा नेपालका उच्च नेताहरुलाई नै अध्यागमनमा रोकिदिने गरेको छ । पर्याप्त कागजात नहुनु, साथमा पर्याप्त डलर नहुनु, नेताहरुलाई प्रायोजन गर्ने जापानस्थित नेपालीको ट्रयाक रेकर्ड राम्रो नहुनु लगायतका कारण नेताहरु इमिग्रेसनमा रोकिने र जापान छिर्न नपाई फिर्ता हुने गरेका छन् । यसअघि एमाले नेता देवी ज्ञवाली, नयाँ शक्तिका नेता कुमार पौडेल, सीपी गजुरेल लगायतका नेतालाई घण्टौं नियन्त्रणमा लिएर छाडिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org