ताजा समाचार

आज विश्वकर्मा पूजा धुमधामका साथ मनाइँदै

काठमाडौं, १ असोज । आश्विन संक्रान्तिका दिन आज पूजाआजा गरी विश्वकर्मा दिवस धुमधाम मनाइँदै छ। आजको दिनलाई विश्वकर्मा पूजाका साथै वास्तु दिवसका रुपमा पनि मनाइने गरिएको छ। कालिगदले विश्वकर्मालाई विशेष महत्व दिने भएपनि फलामसँग सम्बन्धीत सबैले विश्वकर्माको पूजाआजा गर्ने गर्दछन्। आजको दिन फलाको पूजा गर्दा फलाम दिगोरुपमा सञ्चालन हुने र लाभ पनि मिल्ने जनविश्वास छ।

आजको दिनलाई द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ। एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतम बताए।

प्राचीन भारत वर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षक देवताका रुपमा समेत मानिन्छ। विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रका बीचमा रहेको छ। विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मान्ने गरिन्छ।

यही सम्झनामा आज भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गर्छन्। विश्वकर्मा बाबालाई विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वासका साथ पूजा गरिन्छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org