ताजा समाचार

गलत उपचारका कारण १६ महिने छोरीको मृत्यु, ‘चिकित्सकविरुद्ध जाहेरी प्रहरीले दर्ता गरेन’

काठमाडौं, ११ असोज । छोरीको मृत्यु भएको विषयमा प्रहरीले जाहेरी दर्ता गर्न नमानेको भन्दै पीडित परिवारले आपत्ति जनाएका छन्। काठमाडौं मैतीदेवीका रमेश आचार्यकी १६ महिने छोरी भिक्टोरियाको उपचारका क्रममा नर्भिक अस्पताल थापाथलीमा मृत्यु भएको थियो। छोरीको मृत्यु हुनुमा चिकित्सकको लापरबाही प्रमुख कारक रहेको दाबी गर्दै प्रहरीमा जाहेरी दिन खोज्दा प्रहरीले नमानेको आचार्य परिवारको छ। चिकित्सकले भने आचार्यको दाबीलाई अस्वीकार गरेका छन्।

‘दोषीमाथि कारबाहीको माग गर्दै पेस गरिएको जाहेरी प्रहरीले दर्ता गरेन,’ मृतक बालिकाका पिता रमेश आचार्यले भने । सामान्य अवस्थामै अस्पताल पुर्‍याएको छोरीको मृत्यु चिकित्सकको गलत उपचारका कारण भएको दाबी परिवार पक्षको छ । ‘छानबिन निष्पक्ष हुन सकेन, न्याय नपाए अन्तर्राष्ट्रिय अदालत पुग्छु,’ रमेशले भने ।

आचार्यले स्वास्थ्य मन्त्रालयद्वारा गठित छानबिन समितिले उचित प्रतिवेदन दिन नसकेको, छानबिन समिति थपघट गरी धाँधली गरेको र पोस्टमार्टमले सबै विवरण खुल्न नसकेको भन्दै कानुनी कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकुमा तीन चिकित्सकविरुद्ध किटानी जाहेरी दिएका थिए । ‘प्रहरीले हामी खबर गर्छौं भन्दै पठाए, त्यसपछि बोलाएनन्,’ रमेशले भने । उजुरी दिएपछि पटकपटक प्रहरीलाई सम्पर्क गर्दा पनि दर्ता गर्न नमानेको आचार्यको गुनासो छ । उनले गृह र स्वास्थ्य मन्त्रालयमा पनि उजुरी दर्ता गरेका छन्।

स्वास्थ्य मन्त्रालयको छानबिन समितिले गठन गरेको समितिमा दुई सदस्य चिकित्सक हटाई नयाँ राखेको, नयाँ समितिका कारण निष्पक्ष छानबिन हुन नसकेपछि आफू कानुनी कारबाहीका लागि अघि बढेको रमेशले बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org