ताजा समाचार

राजधानीमा दिउँसै निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको गोली हानी हत्या

काठमाडौं, २३ असोज । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानेर हत्या भएको छ । काठमाडौंको बानेश्वर खरिबोटमा गौचनमाथि अज्ञात समूहले सोमबार दिउँसो गोली हानि हत्या गरेका हुन् । अज्ञात समुहको गोली प्रहारबाट गम्भिर घाईते भएका उनको सिभिल अस्पतालमा उपचारको क्रममा निधन भएको हो । गौचनको पेटमा दुईवटा गोली लागेको छ ।

बा १३ ४९४८ नम्बरको गाडीमा सवार गौचनलाई गाडीभित्रै गोली लागेको थियो । गाडीको अगाडिको शिसा छेड्दै गोली गौचनको पेटमा लागेको थियो । प्रहरीले घटनाबारे सोधपुछ गर्न गौचनको गाडी चालकलाई नियन्त्रणमा लिएको छ । गौचनलाई गोली प्रहार गर्ने समूहको एकीन नभएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गौचन एशिया तथा पश्चिम प्यासिफिक एशोसियनको ४३ औ सम्मेलनबाट उपाध्यक्षमा चार महिना अघि निर्वाचित भएका थिए । आफनो निवासबाट ५० मिटरको दुरीमा गौचन माथि गोली प्रहार गरिएको थियो । घटनाका प्रत्यक्षदर्शीका अनुसार आक्रमणकारीले शुरुमा सवारी साधनको सिसामा इटा प्रहार गरेका थिए । इटा प्रहार गरेपछि सवारी साधन रोकिएको थियो ।

सवारी साधन रोकिएकै अवस्थामा अर्को आक्रमणकारीले गौचन माथि गोली प्रहार गरेको प्रत्यक्षदर्शीले बताए । मोटरसाइकलमा आएका आक्रमणकारी आक्रमणपछि सोही मोटरसाइकलमा चढेर फरार भएका हुन । घरको गल्लीबाट मूल सडकमा पुग्ने बित्तिकै सो घटना भएको हो । गौचनका दुई छोरी,एक छोरा,श्रीमती र आमा छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org