ताजा समाचार

भाउजू जिस्काएको भन्दै ढुंगाले हानेर आफ्नै साथीको हत्या

दाङ, २६ असोज । भाउजू जिस्काएको आरोपमा आफ्नै साथीको हत्या गर्ने एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङले घोराही–२ सुर्केडाँगीका मनोज चौधरीलाई पक्राउ गरेको हो । यही असोज १३ गते घोराही उपमहानगरपालिका २ रामपुरमा मृत भेटिएका मन बहादुर खत्रीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले चौधरीलाई पक्राउ गरेको हो ।

बाग्लुङको हटिया गाविस ६ का मनोज घोराही २ स्थित ससुरालीमा बस्दै आएको समयमा असोज १३ मृत अवस्थामा फेला परेका थिए । घोराही १ र २ को बीचमा पर्ने चेपे सोता खोलाको पुलमुनी मृत अवस्थामा फेला परेका खत्रीको हत्या गरिएको आशंकामा अनुसन्धान थाल्दा असोज १२ गते राती मनोज चौधरीले खत्रीको हत्या गरेको खुल्न आएको दाङका प्रहरी प्रमुख दुर्गा सिंहले जानकारी दिए । प्रहरी प्रमुख सिंहले हत्यामा संलग्न भएको आशंकामा पक्राउ परेका चौधरीले खत्रीको हत्या आफूले गरेको स्विकारेको भन्दै निज चौधरीमाथि मुद्दा चलाइसकेको जानकारी दिए ।

यसरी भएको थियो खत्रीको हत्या
असोज १२ गते बेलुकी अन्दाजी ७ बजे समयमा मृतक मनबहादुर खत्री र मनोज चौधरी भेट भई सुर्केडाँगीमा मादक पदार्थ सेवन गरी राती अन्दाजी ८ बजे नाच हेर्ने मनोज चौधरीको मामाको घर पलासे भन्ने स्थानमा गएका थिए । त्यहाँ दुवैले मादक पदार्थ सेवन गरी नाचगान हेरेका थिए र सोही राती अंन्दाजी साढे १२ बजे आआफ्नो घरतर्फ फर्केका थिए ।

मृतक खत्रीसँग छुट्टिएर घर आएका मनोजले भाउजू रजनी चौधरीलाई उठाई भान्सा कोठामा गई भाउजुलाई खाना राख्न लगाएर खाँदै गर्दा मृतक खत्री पनि मनोजको घरमा आएका थिए, त्यहाँ दुवैले पुनः मादक पदार्थ सेवन गरेका थिए । त्यसै क्रममा मृतक खत्रीले मनोजकी भाउजु रजनी चौधरीलाई जिस्काउन थालेपछि दुवैको बीचमा झगडा भएको थियो ।

मनोजले मृतक खत्रीलाई मृतकको ससुराली घरतर्फ लैजादै गर्दा चेपे सोता खोलाको पुल नजिक पुग्दा सोही विषयलाई लिएर फेरि झगडा भएको थियो । यही झगडामा मनोजले मृतक चौधरीलाई पुलमाथिबाट धक्का दिई खसालेर घाइते बनाएका थिए । त्यसपछि आफु पनि खोलामा गई नजिकै रहेको धारिलो ढुंगाले खत्रीको टाउकोमा हिर्काई हत्या गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org