ताजा समाचार

सामाजिक सुरक्षा भत्ता रकमले जुवा खेल्दै गरेका माओवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

सिन्धुपाल्चोक, ३१ असोज । सामाजिक सुरक्षा भत्ता रकम लिएर जुवा खेल्दै गरेको अवस्थामा प्रहरीले एक वडा अध्यक्षलाई पक्राउ गरेको छ । बलेफी गाउँपालिका– ६ (साबिक माम्खा गाविस) का वडाध्यक्ष चित्रवहादुर तामाङलाई प्रहरीले अँधेरीस्थित एक जुवाखालबाट सोमवार राति पक्राउ गरेको हो ।

विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय चौताराबाट खटिएको टोलीले अरनिको राजमार्गको अँधेरीस्थित सिन्धु क्याफेमा जुवा खेलिरहेको अवस्थामा तामाङलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक मोहन पोखरेलले जानकारी दिए । माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष तामाङले प्रहरी फन्दामा परेपछि आफ्नो नाम समेत ढाँटेर विजय तामाङ बताएका थिए । तर, सोधपुछ गर्ने क्रममा उनी बलेफी–६ का वडाध्यक्ष रहेको पुष्टि भएको प्रहरी उपरीक्षक पोखरेलले बताए ।

बृद्ध र बिधुवाभत्तालगायत सामाजिक सुरक्षा भत्ताको रकम लिएर उनी जुवाखालमा बसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उनीसहित पक्राउ परेका १६ जनामाथि जुवा ऐन अनुसार कारबाही हुने प्रहरीले जनाएको छ । प्रहरीले जुवाखालबाट एक लाख १८ हजार रुपैयाँ बरामद गरेको हो ।

माओवादी केन्द्रका जिल्लास्तरीय प्रभावशाली नेता मानिने तामाङ पक्राउ परेपछि छुटाउन दबाब समेत आउन थालेको प्रहरीको भनाई छ । आफ्नो पार्टीबाट वडाअध्यक्ष जस्तो पदमा निर्वाचित भएर जुवाखालबाट पक्राउ परेपछि पार्टीले समेत छानविन सुरु गरेको माओवादी केन्द्रले जनाएको छ । उनलाई पार्टीले स्पष्टिकरण सोध्ने र चित्तबुझ्दो जवाफ नआए पार्टीबाट निश्काषित सम्मको कारवाही गर्ने तयारी भईरहेको माओवादी स्रोतले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org