ताजा समाचार

महिला उम्मेदवारको खडेरी, १११ सिटमा जम्मा ९ महिला नेतृ भिड्दै

काठमाडौं, ६ कात्तिक । दलहरुले आईतबार पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामा प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ सिटमा उम्मेदवारी गराए । नेकपा एमाले, माओवादी केन्द्र मिलेर बनेको वाम गठबन्धन र कांग्रेस गठबन्धनले निकै तामझामका साथ उम्मेदवारी दर्ता गराए । तर उनीहरुले ९ जना महिलालाई मात्रै टिकट दिए ।

जवकी नयाँ संविधानले संसदमा ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य गरेको छ । के दलहरुले प्रत्यक्षतर्फ लड्न सक्ने महिला पाएका होईनन् वा हुँदा हुँदै पनि दिएका होईनन्, यसको जवाफ दलहरुले दिनुपर्ने बेला आउँछ । प्रत्यक्षतर्फ ३३ प्रतिशत महिला प्रतिनिधित्व नगराए समानुपातिकबाट क्षतिपूर्ति गर्नुपर्ने बाध्यता दलहरुलाई आउनेछ ।

आइतबार भएको उम्मेदवारी दर्ताको आधिकारिक विवरण अनुसार प्रतिनिधिसभामा जम्मा तीनजना महिला उम्मेदवार बनेका छन् भने प्रदेशमा ६ महिला उम्मेदवार बनेकी छन् । यो मुख्य प्रतिस्पर्धा हुने मानिएको वाम र कांग्रेस गठबन्धनले उठाएका उम्मेदवारको सूची हो ।

प्रतिनिधिसभामा कांग्रेसबाट दुई महिलाले उम्मेदवारी दर्ता गराएका छन् । खोटाङमा कांग्रेस नेतृ शरस्वती बजिमय र बागलुङ क्षेत्र नम्बर १ मा पूर्वसांसद चम्पादेवी खड्का उम्मेदवार बनेकी छन् । त्यस्तै वाम गठबन्धनबाट माओवादीकी कमला रोक्का पूर्वी रुकुमबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार छिन् ।

प्रदेशसभातर्फ वाम गठबन्धनबाट ५ महिला भिड्दै गर्दा कांग्रेसले एक जना मात्र अघि सारेको छ । वाम गठबन्धनबाट एमालेले पूर्वराज्यमन्त्री नरदेवी पुनलाई म्याग्दी ख बाट उम्मेदवार बनाएको छ । त्यस्तै मनाङ ख बाट खण्डा लामा गुरुङ एमालेको उम्मेदवार छिन् ।

माओवादीबाट नुवाकोट १ क मा राधिका तामाङ, गोरखा २ ख मा कमला नहर्की र बझाङ ख बाट देवकी मल्ल उम्मेदवार छिन् । कांग्रेसले लिलादेवी बोखिमलाई ताप्लेजुङ क बाट उम्मेदवार बनाएको छ । पहिलो चरणमा महिला उम्मेदवार संख्या एकदमै न्यून भएपनि दोस्रो चरणको निर्वाचन सहर केन्द्रित हुनेभएपछि त्यसमा पूर्ति गर्नुपर्ने हुन्छ । अन्यथा समानुपातिकबाट भएपनि महिलाको पूर्ति गर्नुपर्ने अवस्था आउन सक्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org