ताजा समाचार

‘बागी’ उम्मेदवारी दिनेलाई एमालेले कडा कारबाही गर्ने

काठमाडौं, ६ कात्तिक । नेकपा एमालेले बागी उम्मेदवारी दिने आफ्ना कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । नेकपा एमालेले वाम गठबन्धनका विरुद्ध प्रतिनिधिसभा र प्रदेशसभामा उमेदवारी दिने आफ्ना कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको हो ।

एमाले–माओवादी केन्द्रबीच तालमेलबाट असन्तुष्ट आधा दर्जन बढी कार्यकर्ताले बागी उमेदवारी दिएपछि एमालेले गठबन्धनको मर्म र भावनाअनुरूप अघि बढ्न कार्यकर्तालाई निर्देशन दिएको हो ।

एमाले पार्टी स्थायी कमिटीले तालमेल गर्दा अन्यायमा परेका नेता कार्यकर्तालाई धैर्य र संयमित रहन र पार्टीको निर्णय शिरोधार्य गर्न आग्रह गरेको थियो । तर धैर्य तथा संयमित रहनुको साटो बागी उम्मेदवारी दिएपछि एमालेले कडाँ निर्देशन दिएको हो ।

एमालेबाट बझाङमा बागी उमेदवार परेको छ । भैरवबहादुर सिंहका विरुद्ध एमालेकै गोपालबहादुर खड्काले प्रतिनिधि सभामा बागी उम्मेदवारी दिएका हुन् । त्यस्तै आधिकारिक उम्मेदवारअर्जन थापाका विरुद्ध शेरबहादुर बोहोराले प्रदेश क मा उम्मेदवारी दिएका छन् ।

जाजरकोटमा कम्युनिष्ट गठबन्धनका नेता तथा पूर्वमन्त्री शक्ति बस्नेतविरुद्ध एमालेका गोविन्द विक्रम शाहले बागी उमेदवारी दर्ता गराएका छन् । त्यसैगरी नेकपा एमालेमा भर्खरै प्रवेश गरेका गुन्डा नाइके दिपक मनाङेले मनाङमा एमालेकै उमेदवार खण्डा लामाविरुद्ध बागी उमेदवारी दर्ता गराएका छन् । एमालेका खण्डा लामा गुरुङ विरुद्ध मनाङेले उमेदवारी दिएका हुन् ।

बागी उमेदवारी दिनु गठबन्धनको मर्म विपरित मात्र नभई पार्टीको नीति विपरित भएको भन्दै निःशर्त उमेदवारी फिर्ता लिन एमाले सचिव प्रदीप ज्ञवालीले आग्रह गरेका छन् । “एकाध ठाउँमा मिस कम्युनिकेशन भएको हुनसक्छ,” उनले भने, “भोलिसम्म उहाँहरूले फिर्ता लिनुहुन्छ ।” उनले फिर्ता नलिने उमेदवारहरूलाई पार्टीले कारवाही गर्ने र भविष्यमा कुनै जिम्मेवारी नदिइनेसमेत प्रष्ट पारे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org