ताजा समाचार

राजनीतिक दलहरु घोषणापत्र बिनै चुनाव प्रचारप्रसारमा व्यस्त, मतदातालाई कसरी मनाउँलान ?

काठमाडौं, ७ कात्तिक । राजनीतिक दलहरु घोषणापत्र बिनै चुनाव प्रचार प्रसारमा जुटेका छन् । पहिलो चरणमा ३२ जिल्लामा हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दलहरु चुनावी प्रचार प्रसारमा जुटेका हुन् । राजनीतिक दलहरु उम्मेदवारी दर्ता गराएसँगै ती जिल्लामा निर्वाचनको चहलपहल बढेको छ । उम्मेदवारी मनोनयनसँगै गाउँ तथा शहरमा उम्मेदवारसहित पार्टीका नेता कार्यकर्ता चुनावी कार्यक्रममा व्यस्त छन् ।

निर्वाचन आयोगले पनि पहिलो चरणमा निर्वाचन हुने जिल्लाका उम्मेदवारहरुको अन्तिम सुचि (नामावली) यहि कात्तिक ८ गते बुधबार सार्वजनिक गरेर निर्वाचन चिन्ह समेत प्रदान गर्दैछ । तर, उम्मेदवाको अन्तिम नाम प्रकाशित हुने र निर्वाचन चिन्ह लिने अघिल्लो दिनसम्म पनि चुनावमा भाग लिने दलहरुले आफ्नाआफ्ना चुनावी घोषणापत्र सार्वजनिक गर्न सकेका छैनन् । चुनावी घोषणापत्र नहुँदा प्रमुख दलका उम्मेदवारहरुलाई निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न असहज भएको छ । ‘केही अप्ठ्यारो त हुन्छ तरपनि घोषणापत्र अभावमै जनतामा जान सकिन्न भन्ने होइन’ एमाले उपाध्यक्ष भीम रावलले भने, ‘हामी जतिसक्दो चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा छौ ।’

कांग्रेस नेता अर्जुननरसिंह केसीले चुनावी घोषणापत्र उम्मेदवार र पार्टीको प्रतिवद्धतापत्र भएकाले चुनाव प्रचारप्रसारमा जाँदा मतदाताले घोषणापत्र माग्ने बताए । तर आफ्नो पार्टी जनताबीच परिचित भएकाले घोषणापत्र विनै पनि चुनावी प्रचारप्रसारमा जान समस्या नभएको उनको भनाई छ ।

बाम गठबन्धनमा रहेका एमाले र माओवादी केन्द्रले गत असोज १९ गते दुवै पार्टीका नेता सम्मिलित एक कार्यदल बनाई एक साताभित्र संयुक्त चुनावी घोषणापत्र सार्वजनिक गर्ने प्रतिवद्धता जनाएका थिए । सो कार्यदलमा एमाले उपाध्यक्ष बामदेव गौतम, भीम रावल, प्रदीप ज्ञवाली, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, देव गुरुङ, विश्वभक्त दुलाल ‘आहुति’ रहेका छन् । तर, घोषणापत्रमा समेट्ने विषय बस्तुका बारेमा गठबन्धनभित्रै विवाद हुँदा अहिलेसम्म पनि सो कार्यदलले घोषणापत्र सार्वजनिक गर्न सकेको छैन ।

‘केही प्राविधिक कुरा समेट्न बाँकी रहेकाले गठबन्धनको संयुक्त घोषणापत्र सार्वजनिक गर्न ढिलाई भएको छ, तर अव केही दिनभित्रै सार्वजकि गर्ने तयारी भएको छ’, बाम गठबन्धनका तर्फबाट घोषणापत्र कार्यदलमा रहेका एमाले नेता प्रदिप ज्ञवालीले बताए । उनले भने ‘घोषणापत्र अभावमा जनतामाझ जान बाधा पर्दैन, तरपनि केही दिनमै उम्मेदवारहरुले जनताका हातमा घोषणापत्र पुर्याउनेछन् ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org