ताजा समाचार

चितवनमा ४०८ मतदान केन्द्र तोकियो

रत्ननगर, चितवन, ११ कात्तिक।   चितवनमा आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि कुल ४०८ मतदान केन्द्र तोकिएको छ ।

जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार जिल्लामा १६१ मतदानस्थलमा ४०८ वटा मतदान केन्द्र तोकिएको जानकारी दिनुभयो । यसअघि स्थानीय तहको निर्वाचनमा जिल्लामा १६१ मतदानस्थलमा ३७६ मतदान केन्द्र रहेको थियो । अहिले भने ३२ मतदान केन्द्र थपिएको छ ।

बिहीबार जिल्लामा तीनवटै निर्वाचन क्षेत्रको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी यहाँ निर्वाचनको तयारी तीव्र पारिएको छ । जिल्लाका ४०८ मतदान केन्द्रका लागि दुई हजार ८०० भन्दा बढी कर्मचारी परिचालन गर्ने तयारी रहेको ढकालले बताउनुभयो । मंसिर १६ गते मनोनयन दर्तासँगै निर्वाचनको चहलपहल बढ्ने छ ।

यसअघिको संविधान सभा निर्वाचनमा जिल्लामा पाँच निर्वाचन क्षेत्र रहेकामा यसपटक घटाएर तीन निर्धारण गरिएको छ । मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माका अनुसार निर्वाचनमा तीन लाख ५४ हजार ३६ मतदाता सहभागी हुँदै छन् । यसअघि स्थानीय तहको निर्वाचनमा तीन लाख १३ हजार तीन मतदाता सहभागी भएका थिए ।

स्थानीय तहको निर्वाचनभन्दा यस निर्वाचनमा ४१ हजार ३३ मतदाता थपिएका छन् । सबैभन्दा बढी क्षेत्र नं ३ मा एक लाख २५ हजार ८१८ मतदाता रहेका छन् । क्षेत्र नं १ मा एक लाख १९ हजार ९९८ मतदाता रहेका छन् । सो क्षेत्रमा राप्ती नगरपालिका, खैरहनी नगरपालिका र रत्ननगर नगरपालिका पर्दछन् । क्षेत्र नं २ मा एक लाख आठ हजार २१९ मतदाता रहेका छन् । यस क्षेत्रमा भरतपुर महानगरपालिकाको वडा नं १ देखि ५, ७, १०, ११, १२ र २९ वडा तथा कालिका नगरपालिका र इच्छाकामना गाउँपालिका पर्छन् । (रासस)

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org