ताजा समाचार

वाम गठबन्धनको यस्तो तयारीः ओलीले माओवादीको र प्रचण्डले एमालेको बैठकलाई सम्वोधन गर्ने

काठमाडौं, १२ कात्तिक । एमाले अध्यक्ष र माओवादी केन्द्रका अध्यक्षले एक अर्का पार्टीको बैठकलाई सम्बोधन गर्ने भएका छन । वाम गठवन्धनमार्फत् पार्टी एकताको गृहकार्य गरीरहेका एमाले अध्यक्ष केपी ओली र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकअर्काको बैठकलाई सम्वोधन गर्ने भएका हुन् ।

हाल दुबै पार्टीले संयुक्त रुपमा निर्वाचन परिचालन तथा प्रचार समिति बनाउने र प्रशिक्षण चलाउने क्रम जारी छ । माओवादी केन्द्रका सचिवालय सदस्य तिलक परियारले भने, ‘बिभिन्न कमिटीमा संयुक्त बैठक गरी चुनाव परिचालनको काम भइरहेको छ । यसक्रममा दुबै पार्टीका नेताहरुले पनि सम्वोधन गर्ने र प्रशिक्षण दिने काम हुन्छ ।’

दुबै पार्टीका अध्यक्षले एकअर्काको बैठकलाई सम्वोधन गर्ने दिन भने टुंगो नलागेको उनले जानकारी दिए । ‘यस्तो कुरा भइरहेको त छ तर कहिले, कहाँ, कसरी गर्ने भन्ने चाहीँ अझै फिक्स भएको छैन ।’ वाम गठबन्धनका बारेमा बाहिर आएका हल्ला तथा प्रचारवाजीलाई निरुत्साहित गर्न दुवै पार्टी अध्यक्षहरु लगायतका शीर्ष नेताले एक अर्का पार्टीको बैठकलाई सम्बोधन गर्ने तयारी भईरहेको हो ।

माओवादी निकट वाइसीएल र एमाले निकट युवा संघको संयुक्त बैठक बसेर तीन हजार सदस्यीय चुनाव प्रचार समिति हालै गठन गरेका छन् । अखिल क्रान्तिकारी र अनेरास्ववियुले पनि १५ गते संयुक्त बैठक आह्वान गरेका छन् । सो बैठकले संयुक्त निर्वाचन परिचालन तथा प्रचार समिति बनाउने र वाम गठवन्धनलाई जिताउन देशभर अभियान सञ्चालन गर्ने क्रान्तिकारी अध्यक्ष रञ्जित तामाङले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org