ताजा समाचार

यि हुन्, वाम गठबन्धनले टुंगो लगाउन नसकेका ५ जिल्ला, कहाँ के विवाद ?

काठमाडौं, १२ कात्तिक । नेकमा एमाले र माओवादीबीचको वाम गठबन्धनमा अझै पाँच जिल्लाको विवाद टुंगिन बाँकी रहेको छ । नेकपा एमाले–माओवादीको वाम गठबन्धनले ७२ जिल्लाको प्रत्यक्षतर्फको उम्मेदवारी टुङ्ग्याएका छन् । बाँकी ५ जिल्लामा अझै सहमति जुट्न सकेको छैन ।

आइतवारसम्म सल्यान, चितवन, झापा, उदयपुर र सुनसरी जिल्लामा टिकट कस्ले पाउने भन्ने टुंगो लाग्न बाँकी रहेको वाम गठबन्धन सम्बद्ध दलहरुले जनाएका छन् । दुवै पार्टीका नेताहरुको समान रुपमा दावी गरेका कारण अन्तिम टुंगो लगाउन बाँकी रहेको छ । दुवै पार्टीले सबै क्षेत्रमा आ-आफ्नो दावी नछोडेपछि अन्तिम टुंगो लगाउन वाम गठबन्धनलाई कठिनाई भएको हो ।

के कारणले अड्कियोः

झापामा एमालेलाई पाँचवटै क्षेत्र चाहिनेः
झापाका एमालेले पाँचवटै क्षेत्रमा दावी गरिरहेको छ । तर माओवादी केन्द्रले भने आफ्ना नेता राम कार्कीका लागि एक क्षेत्र छुट्टयाउन आग्रह गरिरहेको छ। अन्तिममा झापा २ माओवादी केन्द्रलाई छाड्ने गरी छलफल भइरहेको माओवादीका एक नेताले जानकारी दिए।

सुनसरीका सबै क्षेत्रमा पनि एमालेकै दावीः
सुनसरीमा पनि एमालेले सबैक्षेत्र आफुले पाउनुपर्ने दावी गर्दै आएको छ । वामपन्थीहरुको वलियो पकड रहेको सुनसरी क्षेत्र नम्बर १ मा एमाले र माओवादी केन्द्र दुवैले दावी गरेपछि सहमति जुट्न नसकेको हो। एमाले सुनसरीका पाँच वटै सिट दावी गरिरहेको छ। तर माओवादीले भने आफ्नो पनि दावी प्रस्तुत गर्दा विवाद उत्पन्न भएको हो ।

उदयपुरः माओवादीले झापा नपाए उदयपुर माग्दा विवादः
झापा नपाउने स्थिति बनेमा नेता कार्कीलाई उदयपुरबाट उठाउने माओवादी केन्द्रको तयारी रहेको बुझिएको छ । तर उदयपुरमा पनि एमालेले आफ्नो दावी कायम राखेको छ। झापाको विवाद समाधान भएसँगै उदयपुरको टिकट टुंगो लाग्ने नेताहरुले बताएका छन् ।

चितवनमा बादल र एमाले जिल्ला अध्यक्ष दुवैको दावीः
चितवन–२ मा बरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ लाई प्रतिस्पर्धा गराउने माओवादी केन्द्रको तयारी छ । तर एमाले जिल्ला अध्यक्ष समेत रहेका कृष्णभक्त पोखरेल पनि सोही क्षेत्रमा प्रतिस्पर्धा गर्ने मनसायमा छन् । दुवै पक्षले आ–आफ्नो प्रतिष्ठाको विषय बनाएकाले यो क्षेत्रमा सहमति जुट्न नसकेको हो ।

सल्यान बन्यो दुवै दलको टाउँको दुखाईः
वाम गठबन्धनको लागि सल्यान टाउँको दुखाईको विषय बनेको छ । एकमात्र निर्वाचन क्षेत्र रहेको सल्यानमा एमाले र माओवादीका दुई नेताले सशक्त रुपमा आफ्नो दावी गरेका छन् । एमाले पोलिटव्यूरो सदस्य प्रकाश ज्वाला र माओवादी केन्द्रका टेकबहादुर बस्नेतले आ आफ्नो दावी गरेपछि सल्यानमा टुंगो लगाउन समस्या देखिएको हो । उनीहरु दुवै सल्यान छोड्न मानिरहेका छैनन् । जसले गर्दा वाम गठबन्धनलाई सल्यानको समस्या समाधान गर्न फलामको चिउरा चपाउनुसरह भईरहेको छ ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org