ताजा समाचार

अदालतको अवहेलना गरेको भन्दै ओली र प्रचण्डविरुद्ध सर्वोच्चमा मुद्दा दायर

काठमाडौं, १३ कात्तिक । एमाले अध्यक्ष र माओवादी केन्द्रका अध्यक्षविरुद्ध सर्वोच्च अदालतमा मुद्धा दायर भएको छ । सर्वोच्च अदालतको आदेशको आलोचना गरेको भन्दै एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिरुद्ध मुद्धा दायर भएको हो ।

सार्वजनिक रुपमै सर्वोच्च अदालतले दिएको आदेश विरुद्ध अभिव्यक्ति आएको भन्दै वाम गठबन्धनका शीर्ष नेता समेत रहेका ओली र प्रचण्डबिरुद्ध मुद्धा दायर भएको हो ।

सर्वोच्च अदालतले प्रत्यक्षतर्फ अलग–अलग मतपत्र बनाउनुपर्ने विषयमा निर्वाचन आयोगसँग जानकारी मागेपछि पत्रकार सम्मेलन गरेका वाम गठबन्धनका शीर्ष नेताहरु विरुद्ध मुद्दा दायर भएको हो । राजपा नेता सर्वेन्द्रनाथ शुक्लका तर्फबाट उनीहरुविरुद्ध मुद्दा दायर गरिएको हो ।

रिटमा अदालतको आदेश विरुद्ध ओली र दाहालले पत्रकार सम्मेलन गर्दै अदालतलाई चेतावनी दिएको जिकिर गरिएको छ । अदालतमा विचाराधीन रहेको विषयमा अदालतमा प्रश्न उठाउन नपाइने संविधानको व्यवस्था विपरीत दाहाल र ओलीले पत्रकार सम्मेलन गर्दै अदालतको अवहेलना गरेको निवेदनमा जिकिर गरिएको छ ।

उनीहरुलाई जनही १० हजार जरिवाना र एक वर्ष कैदको माग गरिएको छ । सर्वोच्चको नियमावली अनुसार कैद र जरिवानाको सजाय गर्न माग गरिएको हो । अदालतको अवेहलना गरेको ठहर भएमा उनीहरुलाई सजाय हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org