ताजा समाचार

गोरखा फुजेलका अधिकारी हत्या मुद्दाको पेशी १५ औं पटक सर्‍यो

चितवन, १५ कात्तिक । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दाको पेशी पुनः सरेको छ। यसअघि पनि पटकपटक सर्दै आएको पेशी पुनः मंसिर २५ गतेका लागि सरेको हो। हालसम्म उक्त मुद्दाको पेशी १५ औँ पटक सरेको छ।

पछिल्लो पटक कात्तिक १२ गतेका लागि पेशी तोकिएको थियो। त्यसअघि असोज १ गतेका लागि तोकिएको पेशी कात्तिक १२ गतेलाई सारिएको थियो। जिल्ला अदालत, चितवनमा भर्खरै आएका न्यायाधीश कुलप्रसाद शर्माको इजलासमा परेको मुद्दा प्रतिवादी कानुन व्यवसायी गोपीलाल देवकोटाको निवेदनका कारण पुनः सारिएको अदालतका शाखा अधिकृत गम्भीर घिमिरेले जानकारी दिए।

देवकोटाले सो दिन बहस गर्न नसकिने भएकाले पेशीबाट हटाई पाउँ भनी निवेदन दिएका थिए। निवेदकको मागअनुसार पेशी सारिएको घिमिरेले बताए। झण्डै एक वर्षदेखि मुद्दाको पेशी विभिन्न कारण सर्दै आएको छ।

विसं २०६१ जेठ २४ गते कृष्णप्रसादका बुबा नन्दप्रसादले आफ्नो छोराको हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय, चितवनमा जाहेरी दिएका र त्यसको एक वर्ष छ महिनापछि कृष्णप्रसादका दाजु नुरप्रसादले १३ जनाविरुद्ध किटानी जाहेरी दिएपछि मुद्दा अघि बढेको थियो।

जिल्ला अदालत चितवनले किटानी जाहेरी भएकामध्ये सात जनालाई धरौटीमा र चारजनालाई साधारण तारेखमा छाडेको थियो । दुई जना अदालतको सम्पर्कमा आएका थिएनन्।

तीमध्ये रुद्र आचार्य विदेश रहेको बताइँदै आएको थियो। सरकारी वकिलकातर्फबाट थुनछेक मुद्दालाई पुनरावेदन अदालतमा पेश भएकामा २०७१ साल असार महिनामा पुनरावेदन अदालत हेटौँडाले जिल्ला अदालत चितवनको आदेशलाई सदर गरेको थियो।त्यसपछि सर्वोच्च अदालतमा थुनछेक बहसपछि अभियुक्त १३ जनामध्ये छविलाल  पौडेललाई थुनामै राखेर बाँकी कारबाही किनारा गर्नु भन्ने आदेश दिइएको थियो। पौडेल फरार छन्।

किटानी जाहेरी परेकामा छविलालसहित जानुका पौडेल, रुद्र आचार्य, भीमसेन पौडेल, अजीव पौडेल, कालीप्रसाद अधिकारी, हेमलाल अधिकारी, सीता अधिकारी, रामप्रसाद अधिकारी ९क र ख०, मेघनाथ पौडेल, सुभद्रा तिवारी र विष्णु तिवारी छन्।रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org