ताजा समाचार

पूर्वराष्ट्रपतिको घरभाडा विवादबारे शीतलनिवास बोल्यो

काठमाडौैं, २० कात्तिक । पूर्व राष्ट्रपति डा. रामबरण यादवलाई बस्दै आएको घर छोड्न घर मालिककले १५ दिने सूचना जारी गरेपछि राष्ट्रपतिको कार्यालयले मुख खोलेको छ । राष्ट्रपति कार्यालयका सचिव भुपेन्द्र पौडेलले पूर्व राष्ट्रपति यादवलाई सरकारले दिँदै आएको सेवा सुविधामा कुनै कमी नगरेको भन्दै पूर्व राष्ट्रपतिका सेवा सुबिधाबारे नेपाल सरकारको मन्त्रिपरिषदको २०७३ माघ २० गतेको बैठकले केही परिवर्तन गरेको र त्यहि अनुसार जानकारी गराएको बताए ।

उनले उक्त निर्णय अनुसार पूर्व राष्ट्रपतिको आफ्नो घर भए मासिक एक लाख घरभाडा उपलव्ध गराउने तथा आफ्नो घर नभएको खण्डमा मासिक २ लाख भाडा सरकारले व्यहोर्ने उल्लेख भएको भन्दै त्यसवारे डा. यादवलाई जानकारी गराएपनि यादवले प्रतिउत्तर नदिएको गुनासो गरे । यादवले आफूलाई मासिक कति घरभाडा चाहिन्छ भन्ने जवाफ नदिएकाले उनको निवासको भाडा तिर्न नसकेको सचिव पौड्यालले बताए ।

राष्ट्रपति कार्यालयले तपाईँ मासिक २ लाख कि १ लाख घर भाडा लिनुहुन्छ भनी सोधेको तर उनले त्यसको जवाफ नपठाएकाले भाडा तिर्न ढिला भएको बताए। ‘गत माघमा मन्त्रिपरिषद्ले पूर्वराष्ट्रपतिलाई आफ्नै घर नभए २ लाख र घर भए १ लाख रुपैयाँ मासिक भाडा दिने निर्णय गरेको थियो,’ पौड्यालले भने, ‘सोही अनुसार हामीले उहाँलाई कति पैसा लिनुहुन्छ भनेर सोधेका थियौं तर अहिलेसम्म जवाफ नआएले भाडा रकम निकासा नभएको हो।’

घरभाडा तोकेर लिनेभन्दा पनि जति लाग्छ सबै सरकारले तिरिदेओस् भन्ने पूर्वराष्ट्रपति यादवको चाहना रहेको उनका स्वकीय सचिव किरण पन्थीले बताए। ‘मर्यादाले पनि पैसाको कारोबार गर्न मिल्दैन भन्ने उहाँको चाहाना हो,’ पन्थीले भने, ‘यही व्यहोराको पत्र मैले प्रधानमन्त्रीरराष्ट्रपति कार्यालयमा बुझाइसकेको छु।’

पूर्वराष्ट्रपति यादवले गत साउनदेखि घरबहाल सम्झौता नवीकरण नगरी बसेको भन्दै घरधनी रविभक्त बिष्टले सोमबार सार्वजनिक सूचना निकालेका छन्। उनले आफ्नो घर बहाल र बिजुली महसुलसमेत नतिरी जबरजस्ती बस्नेरबसाउने कार्य भइरहेको उल्लेख गर्दै उनले यसअघि राष्ट्रपति कार्यालय र पूर्वराष्ट्रपतिलाई पटकपटक लिखित सूचना दिए पनि सुनुवाइ नभएको जिकिर गरेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org