ताजा समाचार

मन्त्रीकै छोरीलाई २४ सय पर्ने जुत्ताको मूल्य २८ हजार भन्दा दरबारमार्गमा छापा हानेका खुलासा

काठमाडौं, २१ कात्तिक । यतिबेला राजधानीको सबैभन्दा महंगो ठाउँ दरबारमार्ग एकदमै चर्चामा आईरहेको छ । हुनत धनीमानि तथा हुनेखानेहरुको पहिलो रोजाईमा पर्ने दरबारमार्ग यतिबेला अर्कै कारणले चर्चामा छ । २४ सय पर्ने एक जोर जुत्ताको मुल्य २८ हजारमा बेचिएको पाएपछि सरकारले दरबारमार्गका केही ब्रान्डेड पसलमा सिल गरेको थियो ।

अहिले यो विषयले निकै चर्चा पाईरहेको छ । सस्तोमा किनेर महंगोमा सामान बिक्री गरेको आरोपमा प्रहरीले दरबारमार्ग क्षेत्रका ब्रान्डेड पसलका कर्मचारीहरुलाई पक्राउ गरी अनुसन्धान समेत गरिरहेको छ । अनुसन्धानको क्रममा केही रोचक तथ्य फेलापरेका छन् । उक्त प्रकरणको सुरुवात तत्कालीन आपूर्तिमन्त्री शिवकुमार मण्डलकी छोरीबाट सुरु भएको पाईएको छ ।

उनकी छोरी जुत्ता किन्न दरबारमार्गस्थित बेन्टले पुगेकी थिईन् । उनले त्यहाँको सबैभन्दा महंगो जुत्ता रोजिन् । आखिर मन्त्रीकी छोरी न परिन् । सस्तो जुत्तामा कहाँ आँखा जान्थ्यो र ? उनले रोजेको जुत्ताको मोल सोध्दा २८ हजार रुपैयाँ भन्यो । उनलाई मन परेको जुत्ता जसरी पनि किन्ने निधो गरिन् । उक्त जुत्ता किन्न उनले बुबासँग पैसा मागिन् । त्यसपछि मण्डल जुत्ताको मूल्य सुनेर अचम्ममा परे । ब्राण्डेड जुत्ताको मूल्य उनलाई थाहा थिएन । सोही कारण दरबारमार्गमा साह्रै महंगो ठानेर उनले आफैँ आएर छापा हानेको रहस्य खुलेको छ ।

गल्ती पत्ता लगाएर कारबाही गर्ने भन्दा पनि दुःख दिने नियतले मन्त्री मण्डलले छापा हानेको भन्दै व्यवसायीहरुले त्यसको विरोध गरिरहेका छन् । छोरीले महंगो जुत्ता किन्न लागेपछि त्यसैको रिसमा मन्त्रीले दरबारमार्गभरिका पसलमा छापा हानेको अनुसन्धानमा आबद्ध एक अधिकारीको बुझाई छ ।

मन्त्रीको भित्रि मनसाय बुझेपछि अनुसन्धानमा सुस्तताः
महानगरीय प्रहरी परिसर काठमाडौंले मंगलबार ८ वटा पसलका १० जना प्रवन्धकलाई हिरासतमा राखी अनुसन्धान गरिरहेको छ । मण्डलले गत १९ र २० भदौमा दरबारमार्गका १३ वटा ठूला पसलहरुमा छापा हानेका थिए । वास्तविक मूल्यभन्दा धेरै गुणा महंगोमा सामान बिक्री गरेको भन्दै छापा हानी पसलमा सिल गरेका थिए । तर, त्यसपछि उनले कतै छापा हानेनन् ।

जसबाट पनि चर्चा कमाउन र तर्साउन मात्र उनले छापा हानेको पुष्टि भएको थियो । आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले ती पसलहरुमा प्रारम्भिक अनुसन्धान गरी कारबाही गर्न प्रहरीलाई पत्राचार गरेको थियो । सोही आधारमा प्रहरीले छापा हानी कर्मचारीलाई पक्राउ गरेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org