ताजा समाचार

पाठेघरको मुखको क्यान्सरविरुद्व खोप सुरु गर्ने सरकारको तयारी

काठमाडौं, २२ कात्तिक । सरकारले पाठेघरको क्यान्सरविरुद्ध खोप सुरु गर्ने तयारी गरेको छ । पाठेघर क्यान्सर रोगीको संख्या बढ्दै गइरहेको बेला सरकार यसको नियन्त्रणका लागि खोप दिने तयारी गरेको हो ।

स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य महाशाखाले अबको दुई वर्षमा महिलाको पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाइने खोप सुरु गरिने जनाएको छ । तयारी स्वरुप सरकारले सन् २०१५— ०१६ मा पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाइने खोपको कास्की र चितवनमा पाइलोटिङक गरेको थियो ।

महाशाखाका खोप अधिकृत भरत भण्डारीले खोप ९ वर्षदेखि १३ वर्ष उमेरको बालिकालाई लगाइने तयारीका साथ अघि बढिएको जानकारी दिए । पाइलोटिङको क्रममा पनि ९ वर्षदेखि १३ वर्ष सम्मका १३ हजार बालिकालाई खोप लगाइएको थियो ।

पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दुई मात्रामा पुरा हुन्छ । एक जनालाई खोप लगाउनको लागि १० हजार रुपैयाँ खर्च हुने महाशाखाको भनाई छ । खोप केहि महंगो भएपनि समयमै लगाउन सके पाठेघरको मुखको क्यान्सरबाट बचाउन सकिने भण्डारीको भनाई छ ।

महाशाखाका अनुसार महिलाको पाठेघर मुखको क्यान्सर विरुद्ध लगाइने खोपलाई पनि राष्ट्रिय कार्यक्रममा राखिने छ । महिलाहरुमा हुने क्यान्सर मध्ये सबै भन्दा धेरै पाठेघरको मुखको क्यान्सर भएको बताइन्छ । पाठेघरको मुखको क्यान्सर ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) को संक्रमणको कारण हुन्छ ।

विश्व स्वास्थ्य संघको एक तथ्यांकअनुसार यो रोगबाट वर्षैनी २ लाख ७० हजार भन्दा बढी महिलाहरुको अकालमै मृत्यु हुने गरेको छ । जसमा ८५ प्रतिशत कम विकसित अर्थात नेपाल जस्तो देशहरु पर्दछन् । नेपालमा बार्षिक १० हजारको हाराहारीमा पाठेघर मुखको क्यान्सरका नयाँ विरामीहरु थपिने गरेको देखिएको महाशाखाका अधिकारीहरु बताउँछन् ।

यो ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) को संक्षमणले हुने क्यान्सर हो । यो संक्रमणले पाठेघरको मुखलाई लक्षित गरी आक्रमण गर्ने गर्छ । संक्रमण भएको ८ देखि १० वर्ष पछि क्यान्सरमा परिणत हुन्छ । महिलालाई पाठेघरको मुखमा क्यान्सर भएन–भएको बारे ‘प्याप स्मेयर टेस्ट’ अर्थात गर्भाशय श्राव परीक्षण गरेर पत्ता लगाउन सकिन्छ । यो विधि पाठेघरको कोषिकामा सामान्य अवस्थामा रहे नहरेको पत्ता लगाउने एउटा सरल र छरितो विधि भएको चिकित्सकहरुको भनाई छ ।

परीक्षणको समयमा पाठेघरको क्यान्सर कुन अवस्थामा छ भन्ने जानकारी लिन सकिन्छ । समयमानै चिकित्सकको सल्लाहमा औषधि सेवन गरेमा रोग निको हुन्छ । सानै उमेरमा विवाह गरेमा, असुरक्षित र सानै उमेरमा यौनसम्बन्ध राखेमा, धेरै बच्चा जन्माएमा, धेरै गर्भधारण गरेमा यो रोग लाग्ने बढी खतरा रहने चिकित्सक जय जोशीले बताए । धूमपान गरेको महिलालाई पनि पाठेघरको मुखको क्यान्सरको सम्भावना बढी हुने उनको भनाई छ । यस्तै ५ वर्ष भन्दा बढी हर्मोनयुक्त परिवार नियोजनको साधन प्रयोग गरेका महिलामा पनि क्यान्सरको जोखिम हुन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org