ताजा समाचार

‘पर्यटक उम्मेदवार’ भनेपछि आरजूले तीन करोडमा दुई तले घरै किनिन्

कैलाली, २३ कात्तिक । यतिबेला कैलालीमा ‘पर्यटक उम्मेदवार’ भन्ने शब्दले प्राथमिकता पाईरहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजू राणा देउवा उम्मेदवार बनेपछि यो शब्दले प्राथमिकता पाएको हो । गृहजिल्ला डडेल्धुरा रहेको देउवा परिवारले आरजूलाई कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभातर्फ कांग्रेसबाट उम्मेदवार बनाएको थियो । जसले गर्दा उनलाई पर्यटक उम्मेदवारको संज्ञा दिईएको हो ।

चौतर्फी आफुलाई ‘पर्यटक उम्मेदवार’ भनिएपछि आरजूले राणा देउवाले धनगढीमा नयाँ घर खरिद गरेकी छन् । निर्वाचन प्रचारका क्रममा विपक्षीले ‘पर्यटक उम्मेदवार’ भनेपछि उनले धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित उत्तरबेहडीमा सुविधासम्पन्न घर किनेकी हुन् ।

तीन कट्ठा तीन धुर क्षेत्रफलमा बनेको दुई तलाको घर खरिदका लागि उनले आधा रकम बैना गरिसकेको खुलेको छ । यति मात्र होइन, उनी नयाँ घरमा बुधबारदेखि बस्न पनि थालेकी छन् । स्थानीय शारदा हमालको नाममा रहेको जग्गासहित ६ हजार पाँच सय वर्गफिटको घर झन्डै तीन करोड रुपैयाँमा खरिद गरेको जनाइएको छ । हमालले तीन वर्षयता घर बिक्रीमा राखेकी थिइन् ।

आरजू कात्तिक १४ गते धनगढी आएकी थिइन् । त्यसलगत्तै उनले निर्वाचन प्रचार थालेकी थिइन् । उनले धेरै कार्यक्रममा ‘माइतीले कन्यादान गरेर सुदूरपश्चिम दिएकोु उल्लेख गर्दै आफू सुदूरपश्चिमकी बुहारी भएको बताउँदै आएकी थिइन् । उनी साइत हेरेर नयाँ घरमा सरे पनि नामसारीको काम भने सकिएको छैन । घरधनी हमालले आरजूले बैना दिएको तर बैंकको काम हुँदासम्म समय मागेकाले घरजग्गा पास गर्न केही समय लाग्ने बताइन् ।

घर खरिद गरी सरेको थाहा पाएपछि पत्रकारहरू त्यहीं पुगेका थिए । नयाँ घरको आँगनमा बसिरहेको भेटिएकी उनले भने धनगढीमा घर किन्ने सोच बनाएको प्रतिक्रिया दिँदै कुरा मिलेपछि खरिद गर्ने बताइन् । धनगढी २०७० सालको संविधान सभा निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव लडेको क्षेत्र पनि हो ।

२०७० सालको निर्वाचनमा देउवा डडेल्धुरा र तत्कालिन कैलाली निर्वाचन क्षेत्र नम्बर ६ बाट चुनाव लडेर दुबै स्थानबाट जितेका थिए । टुरिष्ट उमेद्वारको आरोप लागेका बेला किनिएको नयाँ घरले आरजुलाई त्यो आरोपबाट मुक्त गराउने हो वा होईन त्यो भने हेर्न बाँकी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org