ताजा समाचार

यमनमा दशक यताकै गम्भीर भोकमरी, मानवीय अवस्था संकटमा

एजेन्सी, २३ कात्तिक । यमनमा पछिल्लो दशककै ठूलो तथा गम्भीर भोकमरीको अवस्था आएको संयुक्त राष्ट्रसंघका उच्च अधिकारीले बताएका छन् । तत्काल मानवीय सहायता नपुग्ने हो भने यमनका लाखौं मानिस भोकमरीको चपेटामा पर्ने संयुक्त राष्ट्रसंघको मानवीय सम्बन्ध सम्बन्धी उपमहासचिव मार्क लोककले चेतावनी दिनुभएको छ ।

साउदी अरेबियाले यमनसँगको कुटनीतिक सम्बन्ध तोडेर सबै मार्ग बन्द गरेपछि त्यहाँ मानवीय सहायता पुर्‍याउन कठिन भएको छ । तत्काल सहायता सामग्री पठाउने व्यवस्था नभएमा भोकमरीले बिकराल रुप लिने राष्ट्रसंघले चेतावनी दिएको हो । यमनमा संघर्षरत हुथी बिद्रोहीले साउदी अ‍ेरिबयाको रियादमा मिसाइल प्रहार गरेपछि साउदी अ‍ेरिबया नेतृत्वको गठबन्धनले यमनसँगको सम्बन्ध तोडेको हो । मिसाइललाई साउदी अरेबियाको राजधानी रियाद पुग्नु भन्दा अघि नै रोकिएको थियो ।

हुथी बिद्रोहीलाई इरानले सहयोग गरेको र मिसाइलसहितका हातहतियार प्रदान गर्दै आएकाले त्यसलाई रोक्नका लागि प्रतिबन्ध आवश्यक रहेको साउदी अरेबियाले बताएको छ । इरानले भने हुथी बिद्रोहीलाई आफूले कुनै किसिमको सहयोग नगरेको दाबी गर्दै आएको छ ।

यमनमा सन् २०१५ को मार्चदेखि संघर्ष सुरु भएको हो । अहिलेसम्म त्यहाँ ८ हजार ६ सय ७० जनाको ज्यान गएको छ । मारिनेमा ६० प्रतिशत भन्दा बढी सर्वसाधारण नागरिक रहेका छन् । अहिलेसम्म ४९ हजार ९ सय ६० जना घाइते भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org