ताजा समाचार

पूर्व राष्ट्रपति यादव ‘जनआन्दोलन स्वर्ण पदक’बाट विभूषित

काठमाडौं, २४ कात्तिक । पूर्व राष्ट्रपति डा. रामवरण यादव ‘जनआन्दोलन स्वर्ण पदक’बाट विभूषित भएका छन् । सर्वमान्य नेता स्व गणेशमान सिंहको १०३ औँ जन्मजयन्तीको अवसरमा गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले आयोजना गरेको समारोहमा उहाँलाई अभिनन्दनसहित सो पदकबाट विभूषित गरिएको हो । उक्त सम्मान राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गर्नुभएको थियो ।

शान्ति प्रक्रियाका विभिन्न चरणमा पु¥याउनुभएको योगदान र राष्ट्रपतिको हैसियतले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गर्न निर्वाह गर्नुभएको भूमिकाका लाागि यादवलाई अभिनन्दन गरिएको हो ।

समारोहमा राष्ट्रपति भण्डारीले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा उत्साह देखिए झैँ आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई पनि एउटा ऐतिहासिक उत्सवकै रूपमा लिएर सहभागी हुन आमजनतासँग अपिल गर्नुभयो ।

उहाँले संविधानले निर्दिष्ट गरेका विभिन्न तहका निर्वाचन समयमै सम्पन्न गर्न राजनीतिक दलहरूबाट देखाइएको कटिबद्धताको सराहना गर्दै स्वस्थ प्रतिस्पर्धाका लागि दलहरुमा देखिएको अग्रसरताप्रति खुशी व्यक्त गर्नुभयो । राष्ट्रपति भण्डारीले सबै निर्वाचनले राजनीतिक स्थायित्व र परिपक्वता कायम गरी हालसम्म प्राप्त उपलब्धिलाई सुदृढ गर्ने र मुलुकलाई सामाजिक र आर्थिक रूपान्तरणको दिशामा अघि बढ्न मार्ग प्रशस्त गर्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

“युवा अवस्थादेखि नै एक निर्भिक र निडर व्यक्तित्वको पहिचान बनाउनुभएका स्व गणेशमान सिंह नेपाली जनताको स्मृतिमा लौहपुरुष एवं त्यागका प्रतिमूर्तिका रूपमा परिचित हुनुहुन्छ” – उहाँले भन्नुभयो । राष्ट्रपति भण्डारीले रत्नपार्कस्थित शान्तिबाटिकामा रहेको गणेशमान सिंहको शालिकमा माल्यार्पण पनि गर्नुभएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org