ताजा समाचार

नेपालीलाई पीडा सम्झाउने भूकम्प इरान र इराकमाः चिसोमा रात काट्दै पीडित

काठमाडौं, २८ कात्तिक । एक दशकयताकै विनाशकारी भूकम्पपछि इरानमा हजारौं मानिसले चिसोका बावजुद सुरक्षित स्थानमा जम्मा भएर रात बिताएका छन् । भूकम्पमा परी चार सयभन्दा बढी मानिसले ज्यान गुमाएका छन् भने करिब सात हजार घाइते भएका छन् ।

७ दशमलव ३ म्याग्निच्युडको भूकम्पले छिमेकी देश इराकको उत्तरी क्षेत्रमा पनि क्षति पुर्याएको छ । उद्धारकर्मीले सबैभन्दा नराम्ररी प्रभावित इरानको पहाडी प्रान्त केर्मान्शाहमा घरका भग्नावशेषमा पुरिएका दर्जनौं मानिसहरुको खोजी रातिको समयमा पनि जारी राखेको बीबीसीले जनाएको छ ।

इरानी सरकारले मंगलवार राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ । इरानमा गएको आइतवारको भूकम्प यो वर्ष विश्वमै गएको सबैभन्दा विनाशकारी भूकम्प हो । इराकको सीमादेखि १५ किलोमिटर टाढा पर्ने इरानको पश्चिमी शहर सारपोल-ए-जाहब र केर्मान्शाह प्रान्तका अरु क्षेत्रमा सबैभन्दा बढी मान्छेले ज्यान गुमाएका छन् । सरकारी टेलिभिजनका अनुसार उक्त शहरको प्रमुख अस्पतालमा नराम्ररी क्षति पुगेको छ जसका कारण घाइतेहरुको उपचार गर्न अस्पतालले निकै संघर्ष गर्नुपरेको छ ।

इरानी सञ्चारमाध्यमहरुका अनुसार एकजना महिला र उनको बच्चालाई भग्नावशेषबाट जीवितै उद्धार गरिएको छ । एउटा रेडियो स्टेशनले सामाजिक सञ्जाल ट्वीटरमा राखेको सर्वसाधारणद्वारा खिचिएको भिडिओमा शहरका धेरै भवनहरु ढलेको देखिन्छ । एउटा सहायता निकायका अनुसार भूकम्पपछि ७० हजार मानिसलाई आश्रय चाहिएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिवका एकजना प्रवक्ताद्वारा जारी वक्तव्यमा ’आवश्यक परे सहयोग गर्न राष्ट्रसंघ तयार रहेको’ उल्लेख गरिएको छ । इरानी सेनाका कमाण्डर–इन–चिफले सरकारी समाचार च्यानल आइआरआइएनएनलाई बताए अनुसार भूकम्पमा परी ज्यान गुमाउनेहरुमा केही सैनिक र सीमारक्षक पनि रहेका छन् । सन् २००३ मा इरानको दक्षिण९पूर्वी ऐतिहासिक शहर बाममा ६ दशमलव ६ म्याग्निच्युडको भूकम्प जाँदा २६ हजार मानिसले ज्यान गुमाएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org