ताजा समाचार

भारतमा गोली लागेका एक व्यापारीले २ किलोमिटर मोटरसाइकल चलाएर नेपाल आए

सर्लाही, ३० कात्तिक । सर्लाहीका एक कवाड व्यापारीमाथि भारतीय भूमिमा गोली प्रहार भएको छ । अज्ञात समूहको गोली लागेर मलंगवा ९ घर भएका राकेश चौधरी घाइते भएका छन् । भारतको सीतामढीबाट मोटरसाइकल चढेर मलंगवातर्फ आइरहेका बेला गएराति करिब ८ बजेतिर चिलरी मोड भन्ने स्थानमा अज्ञात समूहले उनमिाथि गोली प्रहार गरेको थियो ।

चौधरीको बायाँतर्फ पेटमा लागेको गोली वारपार भएको छ । नेपालभन्दा करिब दुई किलोमिटर पर भारतीय भूमिमा गोली लागेका चौधरी मोटरसाईकल चलाएरै नेपाली भूमिमा आएका थिए ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले भने, ‘नेपालभन्दा करिब दुई किलोमिटर पर भारतीय भूमिमा उनलाई गोली लाग्यो । तर पनि उनी मोटरसाइकल चलाएरै नेपाली भूमिमा आए र मलाई गोली लाग्यो अस्पताल लैजाऊ भनेपछि तत्काल अस्पताल पर्‍याइयो ।’ उनले अघि भने, ‘अचम्मै भयो । गोली लागेर पनि उनी मोटरसाइकल चलाएरै हिँडे । भाग्य बलियो रहेछ ।’

सर्लाही अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि उनलाई वीरगञ्ज रिफर गरिएको छ । चौधरीलाई गोली हान्ने समूह र गोली हान्ने कारण खुलेको छैन । भारतीय प्रहरीसँग समन्वय गरी घटनाको अनुसन्धान गरिरहेको प्रजिअ कटुवालले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org