ताजा समाचार

बागलुङ सदरमुकामस्थित राज्यमन्त्री खड्काको घरमा बम बिष्फोट

बागलुङ, ५ मंसिर । सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काको घरमा बम बिस्फोट भएको छ । बागलुङ नगरपालिका–२ स्थित घरमा गएराति ११ बजेतिर बम विस्फोट भएको हो । विस्फोटनबाट कुनै मानवीय क्षति भने भएको छैन । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का उम्मेदवारसमेत रहेकी राज्यमन्त्री खड्का घरमै रहेको समयमा एक्कासि ठूलो आवाजसहित बम विस्फोट भएको थियो ।

घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक चन्द्रकुबेर खापुङले बताए । विस्फोटन गराउने समूहको पहिचान नभए पनि चुनाव बहिष्कारमा लागेको नेपाल कम्युनिस्ट पार्टीले गराएको हुनसक्ने आशंका गरिएको छ । ‘हामी अनुसन्धानमै छौँ, चुनावी वातावरण बिगार्ने उद्देश्यले विस्फोटन गराएको देखिन्छ,’ प्रहरी उपरीक्षक खापुङले भने, ‘घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउँछौँ ।’

मध्यरातमा एक्कासि ठूलो आवाजसहित बम विस्फोट भएपछि बजारवासी त्रस्त थिए । विस्फोटनलगत्तै प्रहरीले घटनास्थललाई घेराउ गरेर राखेको छ । बम विस्फोटनबाट घरअघि आँगनमा रहेको पर्खालमा सामान्य क्षति पुगेको छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org