ताजा समाचार

महन्थ ठाकुरलाई बागी र वामको चुनौती

 

गौशाला, ५ मंसिर । राष्ट्रिय जनता पार्टी राजपा नेपालका संयोजक एवं महोत्तरी निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार महन्थ ठाकुरलाई आफ्नै बागी र वामगठबन्धनका उम्मेदवारको चुनौती देखिएको छ । सो क्षेत्रमा संयोजक महन्थ ठाकुरसँगै राजपा नेपालकै बागी उम्मेदवार चन्देश्वर झा र नेकपा एमाले का उम्मेदवार विजयकुमार चौधरीले पनि चुनावी अभियान बढाउनु भएको छ । अहिले तीनैजनाले मतदाता फकाउने कामलाई तीव्रता दिनुभएको छ ।

संयोजक ठाकुरले मधेशलाई अधिकार सम्पन्न, विभेद्बाट मुक्ति, न्यायोचित सम्मान र चौतर्फी विकासका लागि यसपालीको चुनावमा मतदातालाई मधेशको सम्पूर्ण निर्वाचन क्षेत्रमा मधेशी नेतालाई जिताएर सम्पूर्ण मधेशलाई मधेशीमय बनाउन आग्रह गर्दै मतदातालाई आफ्नो पक्षमा मतदान गर्न फकाउँदै हुनुहुन्छ । उहाँ मतदातालाई प्रदेश नं २ मा मधेशी सरकार बनाएर आफ्नो विशेष पहिचान कायम गर्न आग्रह गर्नुहुन्छ भने आफ्नो स्वभिमान, सम्मान र अधिकारको रक्षा केवल मधेश सरकारबाट हुने दाबी गर्दै मतदातालाई आफूलाई भोट हाल्न आग्रह गर्नुहुन्छ ।

राजपा नेपालको समर्थनमा नेपाली काँग्रेसले समेत उम्मेदवारी फिर्ता लिएपछि आफू निर्वाचन जित्नेमा संयोजक ठाकुर विश्वस्त देखिनुभएको छ। राजपा नेपाल कै बागी उम्मेदवार बन्नुभएका चन्देश्वर झा आफू जित्ने दाबी गर्नुहुन्छ । पूर्व सांसद चन्देश्वर झा आफूलाई यहाँको जनताले विकासका लागि स्वतन्त्ररुपमै उठ्नुस् भनेपछि उठेको र तीनै जनताले भोट हालेर जिताउने दाबी गर्नुहुन्छ ।

त्यस्तै वामगठबन्धनबाट एमालेका उम्मेदवार विजयकुमार चौधरी यसअघिको निर्वाचनमा यस क्षेत्रबाट एमालेले नै जितेकाले यसपाली पनि एमाले नै जित्ने दाबी गर्नुहुन्छ । वाम एकतापछि आफ्नो संगठन बलियो भएको र आफू यस क्षेत्रमा सबैभन्दा बढी मतान्तरले विजयी हुने उहाँको दाबी छ । उहाँ मधेश र मधेशीको अधिकारका लागि संविधान संशोधन जरुरी रहेको र त्यो काम केवल वामगठबन्धनबाट सम्भव भएको बताउनहुन्छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org