ताजा समाचार

माओवादीलाई फेरि अर्को शोक, चुनावी सभामै ढलेका जनवादी गायक खुसीराम पाख्रिनको निधन

चितवन, ५ मंसिर । चुनावी सभामै गीत गाउँदा गाउँदै जनवादी गायक खुसीराम पाख्रिनको निधन भएको छ । चितवनको भरतपुरमा वाम गठबन्धनले आयोजना गरेको चुनावी सभामा गीत गाएका गायक पाख्रिनको निधन भएको हो । मञ्चमै उनलाई हृदयघात भएको थियो । उनलाई तत्कालै नारायणी सामुदायिक अस्पतालमा लगिएको थियो । तर, उपचारका क्रममा निधन भएको माओवादी केन्द्रका नेता नारायण दाहालले जानकारी दिए ।

पाख्रिनले चुनावी सभा सुरु हुनु अघि दुई वटा गीत समेत गाएका थिए । २००९ सालमा गोरखाको खरिवोटमा जन्मिएका पाख्रिन नेकपा माओवादीका पूर्व सभासदसमेत हुन् । २०६४ सालको संविधानसभा निर्वाचनमा उनी माओवादीबाट समानुपातिक सभासद बनेका थिए । पछिल्लो समय पाख्रिन माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार थिए ।

नेकपा (चौम) बाट राजनीतिक यात्रा सुरू गरेका पाख्रिनले माओवादी जनयुद्द सुरू भएयता सांस्कृतिक समूहमा रहेर काम गरेका थिए । उनी इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष पनि हुन् । उनका श्रीमति, २ छोरा र २ छोरी छन् । पाख्रिनले २०३८ सालदेखि निरन्तर जनवादी गीत गाउँदै आएका थिए । माअ‍ोवादीको बहुचर्चित चुनवाङ बैठकमा प्रचण्ड र बाबुरामसहितका माओवादी नेतालाई रुवाउने गीत उनी पाख्रिनले लेखेका थिए । उनी भरतपुर महानगरपालिका १९ का निवासी हुन् ।

एक सयभन्दा बढी गीतमा आफैले स्वर दिएका पाख्रिनले ५ सय बढि गीत लेखेका छन । माया प्रितिभन्दा जनबादी गीतमा जीवन्तता हुने भएकोले आफूले जनताको पक्षमा गीत गाउदै हिडेको उनी बताउँछन् । ‘सगरमाथाको काखमा नेपाल देश छ’ भन्ने बोलको गीतवाट जनवादी गीत लेख्न सुरु गरेका पाख्रिनले माओवादी जनयुद्धको क्रममा कयौँ गीत लेखेका थिए । त्यसैको सम्मान स्वरुप माओवादीले उनलाइ सभासद बनाएको थियो । ‘डाडाँ काडाँ फूटालेर बाटो बनायो, के पायो नि कुल्ली दार्इले ड्राइभरले ट्रयाक्सी गुडायो ’ भन्ने गीत ०३८ सालमा लेखिएको उनको चर्चित मध्येको एक हो ।

‘कालो बनको बीचैमा खेतालाको गाउँ, हाम्रो देशको व्यबस्था हेर्न त्यहाँ जाउँ ।’ भन्ने गीतपनि चलेको गीत हो । त्यसैगरी ‘लाल झुपडिका मान्छेहरु..’ ‘न्यायपूर्ण युद्धको लहरले..’ ‘रक्त क्रान्तिको बेला हो यो…’ र ‘लडदै छौ मुक्ति युद्ध..’ नामका गीतहरु उनका चर्चित छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org