ताजा समाचार

३२ जिल्लामा मौन अवधि सुरु, मौनअवधिको पालना नगरे उम्मेदवारी रद्द देखि १ लाख सम्म जरिवाना

काठमाडौं, ७ मंसिर । पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि मौन अवधि सुरु हुँदैछ । आज मध्यरात १२ बजेदेखि मोन अवधि सुरु हुन लागेको निर्वाचन आयोगले जनाएको छ । पहिलो चरणको निर्वाचन मंसिर १० गते ३२ जिल्लामा हुँदैछ ।मौन अवधि लागू भएपछि चुनाव प्रचार प्रसार गर्न पाइँदैन ।

निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्तिहरू, राजनीतिक दलका पदाधिकारीहरू, स्वतन्त्र उम्मेदवारहरू, नागरिक समाज, मतदाता तथा सञ्चारमाध्यम समेत कुनैपनि प्रकारका चुनावी प्रचार/प्रसारमा संलग्न हुन नपाइने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत् समेत मत माग्न र निर्वाचन प्रचार(प्रसार गर्न नपाईने प्रवक्ता ढकालले बताए । आयोगका प्रवक्ता ढकालले भने, ‘मौनअवधिको पालना नगरेमा एक लाख रुपैयाँ जरिवाना, उम्मेदवारी रद्द एवम् कसुर अनुसार अन्य प्रचलित कानुनअनुसार कारबाही हुन्छ ।’ उनले अघि भने, ‘आचारसंहिता नैतिकको कुरा हो, त्यसैले सबैले पालना गर्नुहुन्छ भन्ने विश्वास छ ।’

पहिलो चरणको निर्वाचनका लागि मौनअवधि लागू भइरहँदा दोस्रो चरणमा मंसिर २१ गते निर्वाचन हुने ४५ जिल्लामा भने प्रसार(प्रसार गर्न पाइने छ । तर, राष्ट्रिय सञ्चार माध्यमहरुलाई भने दोस्रो चरणको चुनावका लागि पनि आचार संहिता लाग्ने ढकालले बताए ।

मौनअवधिमा सञ्चार माध्यमहरूबाट प्रकाशन तथा प्रसारण गरिने समाचारजन्य सामग्रीबाट मतदातालाई समेत प्रभाव पर्ने भएकाले सो अवधिमा निर्वाचन आचारसंहिताविपरीत हुने कुनैपनि प्रकारका सामग्री प्रकाशन तथा प्रशारण नगर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org