ताजा समाचार

वाम गठबन्धनले के गरेको ! आचारसंहिताको ध्वज्जी उडाउँदै संसदकै गेटमा चुनावी सभा

काठमाडौं, १२ मंसिर । वाम गठबन्धनले राजधानीमै निर्वाचन आचारसंहिताको ध्वज्जी उडाएका छन् । एमाले माओवादी केन्द्रको वाम गठबन्धनले आज राजधानीको बानेश्वरमा व्यवस्थापिका संसद भवन छिर्ने गेटकै अगाडि चुनावी सभाको आयोजना गरेको छ । जसका कारण सवारी आवागमनमा समस्या भएको छ । जुन कार्य आचारसंहिता विपरित हो । निर्वाचन आचासंहित अनुसार यसरी सार्वजनिक यातायात अवरुद्ध हुने गरी सभा गर्न पाइँदैन ।

निर्वाचन आयोगले जारी गरेको आचार संहिताको दफा ४ (ण) मा सार्वजनिक आवागमनमा अवरोध हुने गरी सभा समारोह गर्न नपाइने स्पष्ट उल्लेख छ । तर, काठमाडौं क्षेत्र नम्बर १ का वाम गठबन्धनका उम्मेदवार अनिल शर्माले आफूहरुले निर्वाचन आचारसंहिता उल्लंघन नगरेको दाबी गरेका छन् । आफूहरुले प्रशासनको अनुमति लिएरबीच सडकमा मञ्च बनाएको उनले बताए ।

काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार शर्माका कार्यकर्ताहरुले मंगलबार नयाँ बानेश्वरको बीच सडकमै मञ्च बनाएर चुनावी सभा आयोजना गरेका छन् । नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त कार्यक्रमका लागि संसद् भवनको २ नम्बर गेट अगाडि मञ्च बनाइएको छ ।

बाटो छेकिएका कारण नयाँ बानेश्वरबाट पुरानो बानेश्वर र अनामनगर जाने सवारीसाधन चल्न सकेका छैनन् । सवारी नचल्दा सर्वसाधारणले सास्ती व्यहोर्नु परेको छ । पुरानो बानेश्वर र अनामनगरतर्फ सवारी जान नसक्दा तीनकुने र माइती घरसम्मै सवारी जाम छ । गठबन्धनको कार्यक्रमका लागि बिहानैदेखि सडक अबरुद्ध गरिएको थियो । तर, कार्यक्रम भने ढीलो सुरु भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org