ताजा समाचार

चार अर्ब ३५ करोडको तरकारी बिक्री

धनकुटा, १४ मंसिर । बाह्रै महिना तरकारी उत्पादन हुने धनकुटामा रु चार अर्ब ३५ करोड बराबरको तरकारी बिक्री भएको छ । सिँचाइको सुविधा भएका क्षेत्रमा व्यावसायिक तरकारी खेती गर्नेको सङ्ख्या बढेसँगै तरकारी उत्पादन र बिक्री बढेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । यस वर्ष जिल्लामा उत्पादित बन्दागोभी, मूला, आलु, गोलभेँडा, अकबरे खुर्सानी, घीउसिमीलगायत तरकारी उत्पादन भएको छ।

जिल्लामा अघिल्लो वर्षको तुलनामा करिब रु ३० करोड बढीको तरकारी उत्पादन बिक्री भएको जिल्ला कृषि विकास कार्यलयका प्रमुख भरत विडारीले जानकारी दिनुभयो । बजारको समस्या नभएको र गत वर्षको तुलनामा तरकारी खेतीमा किसानको सङ्ख्या थपिनु एवं तरकारी उत्पादन गर्ने जमिनको क्षेत्रसमेत विस्तार भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

बाह्रै महिना तरकारी उत्पादन हुने जिल्लामा गत वर्ष सबैभन्दा बढी रु एक अर्ब २९ लाख ५५ हजार बराबरको गोलभेँडा उत्पादन भएको थियो । कूल एक हजार ४५८ हेक्टरमा ५१ हजार ९७८ मेट्रिक टन गोलभेँडा उत्पादन भएको थियो । बाँझिएको जग्गासमेत प्रयोगमा आउन थालेको विडारीले बताउनुभयो । जग्गा भाडामा समेत लिएर किसानले खेती गर्न थालेका जोरपाटी गाउँपालिकाका मेघराज खतिवडाले बताउनुभयो । जिल्लामा उत्पादित तरकारी सुनसरीको धरान, मोरङको विराटनगर, झापाको विभिन्न बजार तथा भारतमा लगेर समेत बिक्री गरिँदै आएको छ । जिल्लामा ४० हजार ८२३ हेक्टर क्षेत्रफल जमिन खेतीयोग्य छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org