ताजा समाचार

रौतहटको गरुडामा राजपा र प्रहरीबीच झडप हुँदा ५ जना घाइते, प्रहरीद्धारा २० राउण्ड हवाइ फायर

रौतहट, १५ मंसिर । रौतहटमा प्रहरी र रापजाबीच झडप हुँदा पाँच जना घाइते भएका छन् । गएराति रौतहटको गरुडा नगरपालिका ५ महमदपुरमा प्रहरी र राजपा कार्यकर्ताबीच झडप भएको हो । मधेस आन्दोलनका दृष्यहरु प्रोजेक्टरको माध्यमबाट देखाउँदै राजपाले चुनाव प्रचार गरिरहेको बेला प्रहरीले हस्तक्षेप गरेर रोक्न खोज्दा झडप भएको हो ।

झडपमा बालकसहित पाँचजना घाइते भएका हुन् । उनीहरुको रौतहटका चपुर, गरुडा र गौरका अस्पतालहरुमा उपचार भइरहेको छ । प्रहरीतर्फ पनि घाइते भएको भनिए पनि संख्या खुलाइएको छैन । महमदपुरमा प्रोजेक्टर नियन्त्रणमा लिन खोजेपछि मधेसवादी दलका कार्यकर्ताले प्रहरीलाई घेरा हालेका थिए । त्यसपछि प्रहरीले हवाई फायर र टियर ग्यास प्रहार गरेको थियो ।

गाउँका चोक-चोकमा पुगेर पनि प्रहरीले टियर ग्यास प्रहार गरेको स्थानीयबासीको दावी छ । स्थानीयले ५० राउन्ड हवाइ फायर भएको दावी गरे पनि करिब २० राउण्ड हवाइ फायर भएको प्रहरी ले जनाएको छ ।

स्थिति तनावग्रस्त भएपछि राति नै महमदपुरमा सशस्त्र प्रहरीको थप फोर्स झिकाइएको थियो । राजपाले मधेस आन्दोलनमा प्रहरी प्रशासनले गरेको दमनको भिडियो दृष्य देखाउँदै चुनाव प्रचार गर्दै आएको छ । त्यसलाई प्रशासनले रोक्न खोजिरहेको छ । यसअघि पिपरा रजवारा भन्ने ठाउँमा पनि प्रहरीले हस्तक्षेप गरेको थियो । तर महमदपुरको जस्तो तनाव भने भएको थिएन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org