ताजा समाचार

दोस्रो चरणको निर्वाचनमा १२८ मध्ये ७० सिट जित्ने कांग्रेसको दाबी

काठमाडौं, १७ मंसिर । नेपाली कांग्रेसले दोस्रो चरणमा मात्रै ७० सिट जित्ने दाबी गरेको छ । दोस्रो चरण अन्तर्गत २१ गते हुने ४५ जिल्लाका १२८ सिट मध्ये ७० सिटमा जित्ने कांग्रेसले दाबी गरेको हो । विभिन्न जिल्लाका ७० सिटमा कांग्रेस अग्रस्थानमा रहेकाले ती स्थानमा जित्ने निर्वाचन केन्द्रीय परिचालन समिति संयोजक बालकृष्ण खाँडले दाबी गरे ।

दोस्रो चरणमा हुने प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ १२८ सिट मध्ये कांग्रेसले ११८ सिटमा उम्मेदवारी दिएको छ । बाँकी १० सिटमा लोकतान्त्रिक गठबन्धनमा आवद्ध अन्य दलहरुलाई सहयोग गरेको छ ।

कांग्रेसले सहयोग गरेका गठबन्धनका अन्य १० जना उम्मेदवारहरु पनि अग्रस्थानमा रहेको भन्दै संयोजक खाँडले सहजै बहुमत ल्याउने दाबी गरे । ‘१२८ क्षेत्रमा हामीले उम्मेदवारी दिएका ११८ मध्ये ७० स्थानमा हामी अग्रस्थानमा छौं,’ खाँडले भने, ‘बाँकी हामीले सहयोग गरेका लोकतान्त्रिक गठबन्धनका १० जना उम्मेदवार पनि अग्रस्थानमा हुनुहुन्छ, हामी सहजै बहुमत ल्याउछौं ।’

पहिलो चरण अन्तर्गत गत १० गते सम्पन्न भएको चुनावमा पनि कांग्रेस अग्रस्थानमा रहेको खाँडको दाबी छ । कांग्रेसको मिडिया सेन्टरले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खाँडले संविधान र लोकतन्त्रको रक्षाका लागि कांग्रेसप्रति जनलहर चलेकाले बहुमत आउने निश्चित भएको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org