ताजा समाचार

डोल्पामा प्रभावकारी बन्दै कृषि बीमा

डोल्पा, १७ मंसिर । हिमाली जिल्ला डोल्पामा कृषि जोखिम बीमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । शिखर इन्स्योरेन्स कम्पनीले डोल्पामा नेपालकै कान्छो शाखा बिस्तार गरेर कृषि बीमा कार्यक्रम लागू गरेपछि कृषक धमाधम कृषि व्यवसायको बीमा गर्न थालेका छन् ।

जिल्लामै पहिलोपटक लागू भएको उक्त कृषि बीमा कार्यक्रमका कारण कृषकले आफूले सञ्चालन गरेको कृषि व्यवसाय ढुक्क भएर सञ्चालन गर्न पाइएको ठुलीभेरी नगरपालिका– ८ डाँगीबाडाका गोकुलबहादुर डाँगीले बताउनुभयो । उहाँले ३५० बोट स्याउको बीमा गर्नुभएको छ ।

त्रिपुरा सुन्दरी नगरपालिका जिउँ गाउँका रञ्जीत बोहोरा कृषि बीमा कार्यक्रमका कारण कृषक लाभान्वित भएको बताउनुहुन्छ । उहाँले ३०० बोट स्याउको बीमा गर्नुभएको छ । अघिल्लो वर्ष हावाहुरी र असिनाले नोक्सान पारेको स्याउको बोटको समेत बीमा रकम पाएको उहाँले बताउनुभयो । “प्राकृतिक विपत्तिले क्षति पु¥याएपछि व्यवसाय ठप्प हुने हो कि भन्ने डर हुन्थ्यो, अहिले बीमा कार्यक्रम आएपछि ढुक्क भएर व्यवसाय गर्न पाएका छौँ,”– उहाँले भन्नुभयो ।

कृषि बीमा कार्यक्रम लागू भएको थोरै समय भित्रै ठुलीभेरी नगरपालिका र त्रिपुरा सुन्दरी नगरपालिकाका झण्डै ७५ जना कृषकले बीमा गरिसकेका छन् भने दुई हजार ५६८ स्याउका बिरुवाको बीमा गरिएको शिखर इन्स्योरेन्स डोल्पा शाखाका संयोजक क्षेत्र विक्रम शाहीले बताउनुभयो । निकट भविश्यमा जिल्लाका आठवटै स्थानीय तहमा बीमा कार्यक्रम लागू हुने उहाँले बताउनुभयो ।

कृषि बीमा कार्यक्रमअन्तर्गत कृषकले गरेको बीमाका आधारमा गत वर्ष स्याउमा खडेरी, असिना र हावाहुरीले पु¥याएको क्षतिका आधारमा कृषकलाई रु पाँच लाख छ हजार वितरण गरिएकोसमेत शिखर इन्स्योरेन्स डोल्पा शाखाका बजार प्रबन्धक तीलक शाहीले बताउनुभयो । निकट भविश्यमा पशु बीमा शुरु हुने बताइएको छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org