ताजा समाचार

कुन शीर्ष र चर्चित नेताको भोटिङ कहाँ ? भोट हाल्न को कहाँ पुगे ?

काठमाडौं, २१ मंसिर । अधिकांश शीष नेताहरुले दोस्रो चरणको निर्वाचनमा सहभागी हुँदैछन् । पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा चुनावमा केही शीर्ष नेताहरुले मात्रै मतदान गरेका थिए । दोस्रो चरणको निर्वाचनमा पूर्व प्रधानमन्त्रीदेखि वर्तमान प्रधानमन्त्रीसम्मले मतदान गर्न लागेका छन् ।

आम निर्वाचन सुरु हुनासाथ देशका विभिन्न चुनाव क्षेत्रबाट शीर्षनेताहरुले मतदान गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराबाट मतदान गर्दैछन् भने पूर्वप्रधानमन्त्री प्रचण्डले चितवनबाट मतदान गरेका छन् । झापामा रहेका अर्का पूर्वप्रधानमन्त्री केपी ओलीले अपरान्ह भक्तपुरबाट मतदान गर्ने कार्यक्रम छ ।

पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ (इलाम), कांग्रेस नेता डा. शेखर कोइराला र लालबाबु पण्डित (बिराटनगर) मन्त्री सुनीलबहादुर थापा (धनकुटा) र माओवादी नेता गिरिराजमणि पोखरेल (महोत्तरी) ले बिहानै मतदान गरिसकेका छन् । त्यसैगरी अन्य नेताहरुले पनि मतदान गरिरहेका छन् ।

त्यस्तै पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका नेता माधवकुमार नेपालले रौतहटको गौर नगरपालिका २ स्थित रामजानकी कन्या प्रावि केन्द्रबाट मतदान गर्नेछन् । तर नेपालले आफूले आफैलाई भोट हाल्न पाउने छैनन् । उनी काठमाडौं क्षेत्र नम्बर २ बाट उम्मेदवार छन् । त्यस्तै एमाले बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले इलामकै सूर्योदय नगरपालिकाको रम्फोक मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

यस्तै काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका वडा नं २ को सत्यवती माविबाट मतदान गरेका छन् । महामन्त्री डाक्टर शशाङ्क कोइरालाले काठमाडौँ महानगरपालिका वडा नं ३ महाराजगञ्जचोकको भ्याली स्कूल केन्द्रमा मतदान गर्ने कार्यक्रम रहेको छ । उनले पनि आफैलाइ भोट हाल्न पाउनेछैनन् । उनी नवलपरासीबाट उम्मेदवार बनेका छन् । यसैगरी पूर्वगृहमन्त्री समेत रहेका कांग्रेस नेता विमलेन्द्र निधिले धनुषाको रामेश्वर माविबाट मतदान गर्नेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org