ताजा समाचार

मोरङमा मतदान उल्लासमय, सप्तरीका मतदाता भन्छन्, ‘देशले समृद्धि पाओस्’

विराटनगर, २१ मंसिर । मोरङमा मतदान सुचारु ढंगले शुरु भएको छ । बिहान ७ बजेदेखि नै मतदान शुरु भएको निर्वाचन आयोगको कार्यालय विराटनगरले जनाएको छ । विराटनगरस्थित विभिन्न मतदान केन्द्रमा बिहानैदेखि मतदाता लामबद्ध भएर मतदान कार्यमा सरिक भएका छन् ।

विराटनगरको सत्यनारायण माध्यमिक विद्यालयस्थित मतदान केन्द्र, कञ्चनबारीस्थित मतदान केन्द्र, महेन्द्र मोरङ क्याम्पसस्थित मतदान केन्द्रमा बिहान ७ः३५ बजेसम्ममा २५ भन्दा बढी मतदाताले मतदान गरिसकेको विराटनगरस्थित निर्वाचन आयोगका कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेलले जानकारी दिए । विराटनगरका छवटा निर्वाचन क्षेत्रअन्तर्गत ७५८ वटा मतदानकेन्द्रबाट छ लाख ४४ हजार ७८२ जना मतदाताले मतदान गर्नेछन् ।

सप्तरीमा मतदान शान्तिपूर्ण

यसैबीच, प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश नं २ को सप्तरी जिल्लामा आज बिहान ७ बजेदेखि शान्तिपूर्ण एवं हर्षोल्लास साथ मतदानको कार्य शुरु भएको छ । अत्यन्त उल्लासका साथ अत्यन्त चिसोका बाबजुद लामबद्ध भई महिला, पुरुष, युवायुवती, वृद्धवृद्धा मतदान गर्नका लागि धैर्यतापूर्वक लागेको पाइएको छ ।

साथै, मतदान केन्द्र र मतदाताको सुरक्षाका लागि तीन तहमा सुरक्षा व्यवस्था मिलाइएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली तथा म्यादी प्रहरी खटिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले भन्नुभयो । त्यस्तै, सुरक्षा निकायद्वारा गस्ती शुरु गरिएको छ भने निर्वाचन अनुगमन टोली पनि खटिएको बताइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org